२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

कांग्रेस बैठक आज पनि बस्दै



काठमाडौँ ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ। महाधिवेशन र क्रियाशील सदस्यता विवादबारे ठोस निर्णय नगरी बिहीबारको बैठक स्थगित भएको थियो। आज पनि बिहान ११ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको हो।

बिहीबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका पेश गरेका थिए भने क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले विवादबारे जानकारी गराएका थिए।

छानबिन समितिका संयोजक लेखकले १३ वटा निर्वाचन क्षेत्रको विवाद मिल्न बाँकी रहेको जानकारी गराए। क्रियाशील सदस्यता छानबिन समितिमा रहेर प्रतिवेदन पेश गर्दा फरक मत राखेका कल्याण गुरुङ, प्रदीप पौडेल र योगेन्द्र चौधरीले आफ्ना धारणा राखेका थिए।

उनीहरुले गुरुङले क्रियाशील सदस्यताको ओरिजिलन कपी पेश नभइ सभापतिलाई प्रतिवेदन बुझाइएको भन्दै फरक मत राखेका थिए।
त्यस्तै केन्द्रीय सदस्यहरु मोहन बस्नेत र हृदयराम थानीले आफ्नो जिल्लामा भएको विवादबारे बैठकलाई जानकारी गराएका थिए।
बैठकमा विभिन्न पार्टीबाट आएका समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजन समितिले गरेका कामबारे ब्रिफिङ गरेका थिए।

साउन १२ गतेदेखि सुरु भएर भदौ १६–१९ सम्मको महाधिवेशनको पुरानो कार्यतालिका उल्लंघन भए पनि कांग्रेसले नयाँ ल्याउन सकेको छैन। महाधिवेशन कहिले गर्ने भन्ने विषयमा संस्थापन र इतर समूहबीच विवाद छ।

सभापति देउवा पक्षले मंसिरमा तल्ला तहको अधिवेशन सुरु गरेर माघमा महाधिवेशन गर्न चाहेको छ भने पौडेल पक्षले भदौमा हुनुपर्ने अडान राखेको छ।

प्रकाशित मिति : २९ श्रावण २०७८ शुक्रबार ००:००  ८ : २२ बजे