१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

महाधिवेशन र सरकारका विषयमा छलफल गर्न पौडेल पक्षको बैठक बस्दै



काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज दिउसो बस्ने भएको छ।

बैठक दिउँसो २ बजेपछि नेता प्रकाशमान सिंहको निवास ठमेलमा बस्ने तय भएको सिंहको सचिवालयका सदस्य युपी लामिछानेले जानकारी दिए। बैठकमा पार्टीको क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल हुने बताइएको छ।

कांग्रेसमा क्रियाशील सदस्यताको विवादका कारण आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ। महाधिवेशनको मिति घोषणा भएपछि सभापति देउवाले सरकारको नेतृत्व सम्हालेका छन्।

प्रधानमन्त्री पद सम्हालेको तीन साता बितिसक्दा पनि देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। सरकारमा बढीभन्दा बढी मन्त्री आफ्नो पक्षलाई चाहियो भन्दै पौडेल पक्षले सभापति देउवालाई दबाब दिइरहेको छ।

प्रकाशित मिति : १९ श्रावण २०७८ मंगलबार ००:००  १२ : ४८ बजे