८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुदूरपश्चिममा एकीकृत समाजवादीबाट दुई मन्त्रीले लिए सपथ



धनगढी ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट थप दुई जना मन्त्री नियुक्त भएका छन्। शुक्रबार बेलुका मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका सांसद तारालामा तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले सपथ गराए ।
यस्तै अर्थ राज्यमन्त्री नियुक्त भएकी माया तामाङ बोहरालाई मुख्यमन्त्री भट्टले सपथ खुवाएका छन्।

आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका तारालामा तामाङ तत्कालीन नेकपा एमाले कञ्चनपुरबाट निर्वाचित हुन्। उनी एमाले विभनजनपछि नेकपा एकीकृत समाजवादीमा गएका हुन्। राज्यमन्त्री बनेकी बोहरा बझाङबाट समानुपातिक सांसद हुन्।

पार्टी विभाजनपछि एमालेमै रहने निर्णय गरेका एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता प्रकाशबहादुर शाहले आर्थिक मामिला मन्त्रीबाट राजीनामा गरेपछि पद खाली थियो। राज्यमन्त्री अर्चना गहतराजले पनि पदबाट राजीनामा दिएकी थिइन्।

प्रदेश सरकारलाई नेकपा एकीकृत समाजवादीका १४ र माओवादी केन्द्रका १३ सांसदको समर्थन छ। प्रदेशसभामा सबभन्दा ठूलो दल बनेको एकीकृत समाजवादीका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी गरी ४ मन्त्री र तीन जना राज्यमन्त्री छन् ।

प्रकाशित मिति : २ आश्विन २०७८ शनिबार ००:००  ५ : ४१ बजे