२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

रावल र भुसालले कमिटीको पद्धति उल्लंघन गरेः केपी ओली



काठमाडौं ।
एमाले अध्यक्ष केपी ओलीले पार्टीको आन्तरिक बैठकमा राख्ने विषय पहिल्यै मिडियाबाजी गरेर उपाध्यक्ष भीमबहादुर रावल र उपमहासचिव घनश्याम भुसालले पार्टी पद्धति उल्लंघन गरेको आरोप लगाएका छन्। रावलले दशबुँदे सहमति कार्यान्वयन सहजीकरण कार्यदलबाट दिएको राजीनामा र त्यसबारे राखेको असहमति तथा भुसालले दशबुँदे सहमतिका विषयमा पार्टीमा राख्ने विषयलाई पहिल्यै बाहिर सार्वजनिक गराएर पार्टी बैठकमा भने चिठी पठाएको भन्दै अध्यक्ष ओलीले आपत्ति जनाएका हुन्।

शुक्रबारको एमाले केन्द्रीय कमिटी बैठकमा रावल सहभागी थिए भने भुसाल कोभिड संक्रमणका कारण अनुपस्थित थिए। भुसालले बैठकमा दशबुँदे सहमति कार्यान्वयनका विषयमा तीनबुँदे सुझाब पठाएका थिए। तर, त्यही सुझाब दुई दिनअगावै सार्वजनिक भइसकेकाले बैठकमा छलफल गर्नुको औचित्य नभएको ओलीको भनाइ थियो।

त्यस्तै, बैठकमा उपाध्यक्ष रावलले दशबुँदे सहमति कार्यान्वयन नभएका कारण कार्यदलको संयोजकबाट राजीनामा दिएको बताएपछि ओलीसँग केहीबेर उनको सवाल–जवाफ भएको थियो । ‘तपाईंले कार्यान्वयन गराउनै सक्नुभएन त मैले के गरौँ, कमिटीमै छलफल गरेर के निष्कर्ष आउँछ, दशबुँदे कार्यान्वयनका लागि त्यही लागू गर्ने दायित्व तपाईंको थिएन, अब तपाईंले सक्दिनँ भनेर राजीनामै दिइसकेपछि त्यो कार्यदलको के कामरु’ ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने। प्रतिरक्षामा रावलले नसकेरभन्दा पनि अध्यक्षले सहमति कार्यान्वयन गर्न नमानेपछि राजीनामा दिएको जवाफ फर्काएका थिए।

ओलीले पहिले राजीनामा सञ्चारमाध्यममा वितरण गरेर त्यसपछि मात्र आफूलाई जानकारी दिएको भन्दै त्यस्तो पार्टी पद्धतिविपरीतको शैली पाच्य नभएको चेतावनीसमेत दिएका थिए। ओली–रावलबीच सवाल–जवाफ चल्दै जाने स्थिति बनेपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कुरा अन्त्य गरौँ, स्थायी समितिको विषय त्यतै छलफल गर्ने भनेपछि साम्य भएको थियो। अर्का एक नेताका अनुसार अध्यक्ष ओलीले उपमहासचिव घनश्याम भुसालले पत्रको क्षेप्यास्त्र पठाएको भन्दै बैठकमा पहिल्यै राखिसकेको विषयलाई दोहर्‍याएकोमा आपत्ति जनाएका थिए।

प्रकाशित मिति : १३ कार्तिक २०७८ शनिबार ००:००  ६ : ०२ बजे