४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

घोराही उपमहानगरको भवन अलपत्र, ठेक्का सम्झौता तोड्ने तयारी



दाङ ।

घोराही उपमहानगरपालिकाको निर्माणाधीन नयाँ भवन एकदेखि वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीले काम अघि नबढाएपछि उपमहानगरको भवन निर्माणमा ढिलाइ भएको हो ।

२० करोड लागतमा निर्माण हुन लागेको पाँच तले भवन दुई वर्षभित्रै सम्पन्न गर्ने गरी २०७८ वैशाख ६ गते सम्झौता भएको थियो । गौरी(पार्वतीरभुसाल बस्नेत जेभीले निर्माणको जिम्मा लिएको उक्त भवन वर्षदिन बित्दा जग हाल्ने काम मात्र भएको छ ।

नयाँ भवन घोराही उपमहानगरपालिकाको परिसरम भित्रै निर्माण भइरहेको छ । उपमहानगरको नयाँ भवन अन्डरग्राउण्ड पार्किङ र लिफ्ट सहित सुविधासम्पन्न हुनेछ । तर निर्माण व्यवसायीको लापरवाहीका कारण भवन निर्माण कार्यमा ढिलाइ भइरहेको उपमहानगरपालिकाका अधिकारीहरुले बताए ।

घोराही उपमहानगरपालिका पूर्वाधार महाशाखा प्रमुख इञ्जिनियर युवराज पौडेलले उपमहानगरको भवन निर्माणका लागि ताकेता गरिरहे पनि निर्माण व्यवसायीले काम नगरेको बताए ।

ठेक्का सम्झौता अनुसार भवन निर्माण २०८० बैशाख ३१ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । त्यसअनुसार भवन निर्माणको म्याद सकिन अब सात महिनामात्र बाँकी छ ।

तर भवन निर्माणको काम कछुवाको गतिमा हुँदा भौतिक प्रगति १० प्रतिशत पनि हुन सकेको छैन । कम्पनीले भने हालसम्म ४ करोड भुक्तानी समेत लिइसकेको छ ।

‘हामीले काम सुरु गर्न भनेर पटक(पटक पत्र काटेका छौं’ इञ्जिनियर पौडेलले भने, ‘तर ठेकेदारले विभिन्न बहाना बनाएर काम गरिरहेको छैन ।’ उनका अनुसार घोराही उपमहानगरपालिकाले ठेकेदार कम्पनीलाई छिटो काम गर्न निर्देशन गरे पनि अटेर गरिरहेको छ ।

ठेक्का सम्झौता तोड्ने तयारी

उनले यो काम सम्झौता अनुसार आउने बैशाखमा सकिने अवस्था नरहेको भन्दै अब हालको ठेकेदारसँग सम्झौता तोडेर भवन निर्माणलाई तीव्रता दिने बताए । ‘अहिले काम गर भन्ने बाहेक केही गर्न सकिंदैन,’ उनले भने, ‘अब बैशाखसम्म यस्तै हो । त्यसपछि भने ऊसँग सम्झौता गरिंदैन र अरुबाट काम छिटो गराइन्छ ।’

उपमहानगरपालिका मेयर नरुलाल चौधरीले ठेकेदारले काम नगरेको भन्दै ठेक्का तोड्ने अवस्थामा पुगेको बताए । निर्माण कम्पनी काम नगरेर सम्पर्कमा समेत नआएपछि पत्रिकामा समेत सूचना छापेको उनले बताए । ‘भवन निर्माण सुरु गर्न भनेर पटक(पटक निर्देशन गर्यौं, तर पनि काम अघि बढेन’ मेयर चौधरीले भने, ‘अब उहाँहरुबाट काम हुँदैन भन्ने निष्कर्षमा उपमहानगर पुगेको छ ।’ उनले सम्झौता म्याद अनुसार बाँकी भएको समय सीमा भित्र काम नगरे ठेक्का नै तोड्ने बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७९ बुधबार ००:००  १२ : १३ बजे