८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

गुल्मीमा भुस्याहा कुकुरको आतङ्क



तम्घास ।

गुल्मीको मुख्य बजार र जिल्ला प्रशासन कार्यालयको गेटमा भुस्याहा कुकुरको आतङ्क बढेको छ ।

बजारमा भुस्याहा कुकुरको आतङ्क हुँदा समेत यसको नियन्त्रण र व्यवस्थापनमा सरोकारवाला कसैको ध्यान जान सकेको छैन ।बजारमा मुख्य सडकमा भुस्याहा कुकुरको आतङ्कले गर्दा सडक दुर्घटना निम्त्याउने अर्को खतरा पनि रहेको छ ।

बजारमा भुस्याहा कुकरको आतङ्कले विद्यालय हिँड्ने ससाना बालकहरुलाई झम्टने र टोक्ने समस्या पनि बढ्दै गएको यहाँका स्थानीयहरुले जनाएका छन् ।
बजारमा भुस्याहा कुकुरको बिगबिगी हुँदासमेत नगरपालिका कानमा तेल राखेर बसेको र देखेको नदेख्यै गरेको स्थानीय व्यवसायी जनक पन्तले बताउनुभयो ।

बिहानीको समयमा हिँड्दा र बाइक चलाएर बजार हिँड्न सक्ने अवस्था नरहेको उहाँको गुनासो छ । विद्यालय जाँदा पैदल यात्रा गरेर जाने ससाना बालबालिका बढी जोखिममा रहेकाले नगरपालिकाले तत्काल समस्याको समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सदरमुकाममा भुस्याहा कुकुरको समस्या अत्यधिक भएकाले नगरसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।आफूहरुको कार्यक्षेत्रभित्र यो कार्य नपर्ने भएकाले यसलाई समाधान गर्नका लागि तत्कालै आफूले पहल गर्ने उहाँको दाबी छ ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले भुस्याहा कुकुरको समस्यालाई समाधान गर्नका लागि आफूहरुले योजना बनाएको बताउनुभयो ।

प्रकाशित मिति : १२ आश्विन २०७९ बुधबार ००:००  ३ : ३२ बजे