४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

भ्रष्टाचार नियन्त्रण गरेमात्रै समृद्धि आउँछः प्रदेश प्रमुख शेरचन



बुटवल ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउने बताएका छन् ।

भ्रष्टाचारका कारण देश आर्थिक सङ्कटबाट माथि उठ्न नसकेको औँल्याउँदै उनले भ्रष्टाचार नियन्त्रणमा सबैको चासो र सक्रियता रहनुपर्नेमा जोड दिए ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले भने, ‘भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ । तीन करोड जनता मारमा परेका छन् । आयोगको ध्यान यता जाओस् ।’

आयोगको दायरा धेरै भए पनि काम कम भएको टिप्पणी गर्दै उनले जनतालाई महसुस हुने गरी काम गर्न सुझाव दिए । ‘तल्लो तहका कर्मचारीलाई मुद्दा लाग्ने तर उच्च पदमा रहेकालाई छुट दिनु राम्रो होइन, तपाइँहरूलाई कानुनले अधिकार दिएको छ, त्यो अधिकार प्रयोग गरेर अधिकारको दुरुपयोग गर्नेलाई कारबाही गर्नुस्,’ उनले भने ।

जनताको दुःख र पसिनाले तिरेको रकम दुरुपयोग हुनु विडम्बना भएकाले भ्रष्टाचारीको शिर ठाडो नहुने गरी कारबाही प्रक्रिया अघि बढाउनसमेत उनले आग्रह गरे । सडक निर्माणलगायत पूर्वाधार निर्माणमा भएका अनियमितताबारे छानबिन गर्नुपर्ने र कारबाही गर्नुपर्नेमा उनको जोड थियो ।

प्रमुख शेरचनले जनताले अरुबाट आशा गर्न छोडे पनि अख्तियारमाथि अझै भरोसा रहेकाले त्यो भरोसा रहनेगरी काम गर्न सुझाव दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख योगेन्द्रप्रसाद पाण्डेले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न आयोग प्रतिबद्ध रहेको बताए ।

उनले आयोगको बुटवल कार्यालयमा आर्थिक वर्ष २०७८/७९ मा नौ सय उजुरी प्राप्त भएकामा ८४ प्रतिशत उजुरी फछ्र्योट भएको जानकारी गराए ।

प्रकाशित मिति : १२ आश्विन २०७९ बुधबार ००:००  ८ : ४२ बजे