१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शपथ ग्रहण



काठमाडौं ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा केहीबेरअघि आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो ।

गएको २५ गते बिहीवार भएको राष्ट्रपति चुनावमा पौडेलले ३३ हजार आठ सय दुई मतभार ल्याएर राष्ट्रपति बन्नुभएको हो । आजदेखि नै राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको रूपमा काम गर्नुहुनेछ ।

शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको उपस्थिति रहेको थियो । राष्ट्रपति पौडेलको सम्मानमा राष्ट्रपतिको कार्यालयले दिवाभोजको आयोजना गरेको छ ।

शपथ ग्रहणको अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । साथै नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइका क्रममा सलामी अर्पण गरेको छ । साथै निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री प्रचण्डले बिदायका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९ सोमबार ००:००  ४ : २६ बजे