६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

नेविसङ्घले रेसुङ्गामा १४ वर्षपछि विरासत फर्कायो



गुल्मी ।
गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का पुनाराम घिमिरे निर्वाचित हुनुभएको छ । सदरमुकाम तम्घासमा रहेको क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्तबाट सभापतिका उम्मेदवार बन्नुभएका नवीन अर्याललाई पराजित गर्दै घिमिरे निर्वाचित हुनुभएको हो ।

सभापतिमा निर्वाचित घिमिरेले ३ सय ९५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी अर्यालले २ सय ६८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत यमबहादुर थापाले जानकारी दिनुभयो ।

त्यसैगरी सचिवमा नेविसङ्घका सुदीप खत्री, कोषाध्यक्षमा यमुना सेन मुना र सदस्यहरूमा अनिष पन्थी, अनुप सुनार, एलिशा पाण्डे, किरण थापा र कमल कुँवर निर्वाचित हुनुभएको छ । रेसुङ्गा क्याम्पसको स्ववियु चुनावमा अनेरास्ववियु र अखिल–क्रान्तिकारीबीच तालमेल हुँदा नेविसङ्घ एक्लै चुनावी प्रतिस्पर्धामा थियो ।

रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत ७ सय ६१ जना विद्यार्थीमध्ये ६ सय ७१ जना मतदान प्रक्रियामा सहभागी भएका थिए । स्ववियु चुनावमा नेविसङ्घले १४ वर्षपछि रेसुङ्गामा आफ्नो विरासत फर्काएको हो । २०६५ साल अघिसम्म नेविसङ्घको एकलौटी किल्ला भनिएको रेसुङ्गामा एमाले र माओवादी निकट विद्यार्थीहरूको संयुक्त प्यानलले त्यस वर्ष किल्ला भत्काएको थियो ।

रेसुङ्गामा नेविसङ्घले यसअघि यसअघि स्ववियुले २०७३ सालमा सम्पन्न स्ववियु चुनावमा रेसुङ्गामा अनेरास्ववियुले सभापतिसहित जितेको थियो । तर यस पटक गठबन्धन गर्दा पनि अनेरास्ववियु पराजित भएको हो ।

स्ववियु चुनावमा जित हासिल गरेपछि नेविसङ्घले सोमवार सदरमुकाम तम्घासमा बाजागाजा र अबिर जात्रासहित खुसी साटासाट गर्दै विजय र्‍याली मनाएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७९ मंगलबार ००:००  ७ : ३४ बजे