५ चैत्र २०८०, सोमबार | Tue Mar 19 2024

स्ववियु निर्वाचनमा मिश्रित परिणाम



लुम्बिनी ।
लुम्बिनी प्रदेशका विभिन्न क्याम्पस तथा कलेजमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मिश्रित परिणाम सार्वजनिक भएका छन्।

तानसेन समाचारदाताका अनुसार पाल्पाका चार क्याम्पसमा कतै निर्वाचनमार्फत त कतै सर्वसम्मतबाट स्ववियु पदाधिकारी चयन भएका छन्। मुलुककै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा सर्वसम्मत रूपमा स्ववियुको निर्वाचन सम्पन्न भएको छ।

यस क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा सर्वपक्षीय स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चयन गरिएको हो। सर्वपक्षीय स्ववियुमा नेविसङ्घका कृष्ण अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ।

यस्तै उपाध्यक्षमा अनेरास्ववियुका अमृत भट्टराई र सचिवमा अखिल क्रान्तिकारी का ताराबहादुर रायमाझी निर्वाचित हुनुभएको छ। सहसचिवमा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उमेश भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियुका सन्तोष पोखरेल निर्वाचित हुनुभएको छ।

रामपुरस्थित शहीद बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसङ्घका ल्याकत अली निर्वाचित हुनुभएको छ। नेविसङ्घ र क्रान्तिकारीको संयुक्त प्यानलबाट अली निर्वाचित हुनुभएको हो।

पाल्पाको पूर्वखोलास्थित उद्धबुद्ध कलेजमा अनेरास्ववियुको प्यानल नै निर्विरोध विजयी भएको छ। उद्धबुद्ध कलेजको अध्यक्षमा अनेरास्ववियुका केशव पङ्गेनी निर्वाचित हुनुभएको छ। यस्तै तानसेनको दमकडास्थित माण्डव्य बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियुकै सरोज अधिकारी निर्वाचित हुनुभएको छ।

भैरहवा समाचारदाताका अनुसार रुपन्देहीमा स्ववियु निर्वाचन भएको छ वटा क्याम्पसमध्ये अनेरास्ववियु र नेविसङ्घले बराबरी सङ्ख्यामा जितेका छन्। यहाँको १२ वटा क्याम्पसमा स्ववियु निर्वाचनका लागि सङ्गठन दर्ता भए पनि छ वटामा विवादका कारण रोकिएको छ।

प्रकाशित मिति : ८ चैत्र २०७९ बुधबार ००:००  ६ : २८ बजे