१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बजार नपाएपछि आलु उत्पादन घट्दै



प्यूठान ।
जिल्लाको भिमरुक गाउँपालिकास्थित आहाल खोलामा प्रत्येक परिवारले हरेक वर्ष २० देखि १ सय मुरीसम्म आलु फलाउँदै आएका थिए । बजार पाउन नसकेपछि किसानले आलु उत्पादन घटाउँदै लगेका छन् । बजार अभावले आलु खेती छाडेको झिमरुक–३, की आहाल खोलाकी विष्णा सुनारले सुनाइन् ।

‘पहिले ४० मुरीसम्म आलु भित्र्याउँथ्यौं,’ उनले भनिन्, ‘अहिले मुस्किलले १५ मुरीजति फल्छ ।’ बजार नपाउने समस्याले आलु खेती घटाउँदै लगेको उनले बताइन् । ‘फलाएर मात्रै के गर्नु, बजार छैन,’ उनले भनिन्, ‘खोलामा फाल्नलाई किन दुःख गर्नू !’
उत्पादन भएको आलु बिक्री नभएर गत वर्ष कुहिएर फाल्नु परेको सुनारले सुनाइन् । फागुनबाट आलु खन्न सुरु गर्ने किसानलाई वैशाखसम्ममा त्यो आलु बेचिसक्नुपर्ने बाध्यता छ । भण्डारण गर्ने ठाउँ नहुँदा आलु कुहिने, चिलिसा लाग्ने जस्ता समस्या भोग्नु परेको छ ।

पहिले गहुँ लगाउन छाडेर आलु खेतीमा होमिएका थिए । अब फेरि पुरानै बालीतर्फ फर्किनुपरेको किसान बताउँछन् । बिक्रीवितरण नभएपछि आलु लगाउन जाँगर मरेको अर्का किसान डोलराज उपाध्यायले सुनाए ।

‘केही होला भनेर काम गर्ने हो, बजार पठाउने समयमा किलोको १० रुपैयाँमा बिक्दैन,’ उनले भने, ‘अब अर्को व्यवसायमा जानुको विकल्प रहेन ।’ आहालखोलाका ३ सय घरधुरीले सिजनमा १५ मेट्रिक टनसम्म आलु फलाउँथे । यहाँको उत्पादनले जिल्लाको मागलाई धान्न सक्ने भए पनि बाहिरी जिल्लाबाट आउने सस्तो आलुका कारण स्थानीय आलु खपत नभएको बताउँछन् । यसअघि आलु बेचेर प्रतिघर ७० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७९ बिहिबार ००:००  ७ : १२ बजे