१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

परम्परागत तीजको रौनकता हराउँदै, जताततै सुनसान



बैरिया, मायादेवी अनलाइन ।
पछिल्लो समय परम्परागत तिज गीतको रौनकता घट्दै गएको छ । विगतमा महिलाहरु भेला भएर तीजको गीत गाउने र नाच्ने परम्परा पछिल्लो समयमा हराउदै गएको हो । परम्परादेखि चल्दै आएका तीजका मौलिक नाँच गानमा समेत कमी आएको छ । दिदी वहिनीहरु जम्मा भएर अन्तरमनका भावनाहरु साटासाट गर्ने, नाच्ने गाउने थलोमा समेत महिलाहरुको उपस्थिती न्यून देखिएको हो ।
विगतमा यस क्षेत्रकै केन्द्रको रुपमा परिचित बाल मा.वि.बैरियाको प्राङ्गणमा तीज गीतको रौनकता घटेको स्थानीय बुद्धिजीवि बताउछन् । बजारमा किनमेल संगसंगै तीजको दिन निकै भिडभाड र रमाइलो हुने गर्दथ्यो । यसपटक विगतमा भन्दा तीजको रौनकता र महिलाहरुको उपस्थिती भन् कम भएको बताइएको छ ।
वाणगंगा नगरपालिकाका विभिन्न ठाँउमा पनि बैरियामा जस्तैगरी तीजको रौनकता हराएको छ । विगतमा बढि जमघट हुने ठाउँहरुमा क्रमशः सुनसान र नाँचगान हुन छाडेका छन् । कतिपय ठाउँमा तीजको गीतमा मौलिकता भन्दा पनि आधुनिकता तर्फ गएको छ । गाँउघर तिर परम्परागत तीजको मौलिकता अझै कायम राखिराखेका छन् यो सकारात्मक पक्ष हो, शहर बजारमा यो पनि पाइदैन । कतिपय युवापुस्ता भने विदेश पलायनका कारण पुरानाले मौलिक संस्कृति र परम्परा जोगाईराख्नुपर्ने बाध्यता छ । संचार प्रविधिका कारण पनि तीजको रनौकता घटेको हो ।
तीजका बेला लाग्ने हाटबजारमा व्यवसायीहरु पनि कम आएका छन् । विगतमा राम्रो व्यापार गर्दै आएका व्यवसायीले यसपटक धेरै सुनसान र विक्री नभएको बताउछन् । बर्षेनी व्यापार घट्दो छ, के कारणले हो, मानिसहरुको चहल पहल छैन, उनले मायादेवी अनलाइनलाई भने, विक्री पनि छैन, मन्दी साच्चीकै लागे जस्तो छ ।


नेपालमा तीजको मौलिकता भने हराउँदै गएको र विकृति मौलाउँदै गएकोमा चिन्ता व्यक्त गर्न थालिएको छ । विगत ६० वर्ष देखि बैरियामा बस्दै आउनु भएको जनार्दन ज्ञवालीले स्थानीय सरकारले हाम्रा सँस्कृति, मूल्य मान्यता र परम्परालाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । वडा तथा नगरपालिकाले तीजको मौलिकता जोगाउन सक्ने हो भने भित्रिएको विकृतिलाई केही हदसम्म कम गर्न सकिन्छ । शिक्षण पेशाको लामो अनुभव रहेको ज्ञवालीले परम्परा देखि हुदै आएको तीज नाँच गानमा आधारभूत कुराहरु बस्ने ठाँउको प्रवन्ध, माइक र खानेपानी जस्ता व्यवस्थापन गर्दा रौनकता बढ्ने र ठाँउको पनि प्रचार प्रसार हुने बताउनुभयो ।

प्रकाशित मिति : १ आश्विन २०८० सोमबार ००:००  ८ : ३३ बजे