१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा मोहम्मद जयन्ती मनाइयो



मायादेवी अनलाइन, बाणगंगा ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९८ औं जन्मोत्सव अर्थात ‘मोहम्मद जयन्ती’ कपिलवस्तुमा धुमधामका साथ मनाइएको छ ।

उक्त पर्वका अवसरमा मुस्लिम समुदायले खुशीयाली मनाउदै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो । उहाँको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मद जयन्तीलाई ईद मिलादुनन बी र १२ रबि अव्वल पनि भन्ने गरिन्छ ।

नेपाली मुस्लिम समुदायले यस पर्वलाई ‘मोहम्मद डे’ भनेर पनि मनाउने गरेका मुस्लिम अगुवा मोहम्मद जाहिद खाँले बताउनुभयो । मोहम्मद दिवसको दिन इस्लाम धर्मावलम्बीले खुशी व्यक्तगर्दै मोहम्मदका विभिन्न नारा घन्काएका छन् । मोहम्मद दिवसले मुस्लिम समुदायलाई एकताको सूत्रमा बाँध्नुका साथै भाइचारा सम्बन्ध कायम रहने जनविश्वास छ ।

मोहम्मद डेका अवसरमा मुस्लिम समुदायहरु गरिब तथा विपन्न, असक्त, अनाथलाई दान दिने, घर–आँगन सरसफाइ गर्ने, घरमा इस्लामिक झण्डा फहराउने, दिप–प्रज्ज्वलन गर्नेलगायत क्रियाकलाप गरेको मुस्लिम गुरु नजिर अहमद मुसालमानले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक नवरत्न पौडेलले कपिलवस्तुका विभिन्न स्थानमा मनाइएको मुस्लिम समुदायको विशेष पर्व महोम्मद जयन्ती शान्तिपूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । पर्व मनाउन कपिलवस्तुमा विभिन्न पालिका र लुम्बिनी प्रदेश सरकारले समेत मुस्लिम समुदायलाई विदा दिएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८० बिहिबार ००:००  ७ : ४९ बजे