१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सामाजिक रुपान्तरणमा प्रदेशमै स्थापित संस्था सिद्धार्थको अध्यक्षमा पुनः शाही



मायादेवी अनलाइन, बाणगंगा ।
‘वाताबरण, शान्ति र सामाजिक बिकासका लागि रोग, भोक र अशिक्षाका विरुद्ध अघि बढौं’ भन्ने मुल नाराका साथ बाणगंगा ४ मा रहेकोे सिद्धार्थ सामाजिक विकास केन्द्रको २७ औं बार्षिक साधारणसभा तथा १३ औं अधिबेशन सम्पन्न भएकोे छ ।

कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य तथा कपिलवस्तु क्षेत्र न.१ का सांसद बलाराम अधिकारीले प्रदेशकै एक अब्बल संस्थाको रूपमा सिद्धार्थ सामाजिक बिकास केन्द्र परिचित भएकोमा अझ कार्यक्षेत्र विस्तार गरेर समुदाय सहयोग गर्नुपर्ने बताउनुभयो ।

सांसद अधिकारीले मुलुक आर्थिक रुपमा संकटमा गुज्रीरहेको अवस्थामा संघसंस्थालाई समेत अप्ठ्यारो परेको स्पष्ट पार्नुभयो । राज्यद्धारा जनताका आवश्यकताहरु पुरा हुन नसकेको अवस्थामा गैरसरकारी संस्थाहरुले दुरदराजमा पुगेर महिला, युवा, गरिब, विपन्न समुदायको क्षेत्रमा गरेको सहयोग प्रशंसनीय रहेको बताउदै संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।

साथै सोही अवसरमा संघीय गणतन्त्र स्थापना पश्चात् संबिधानको कार्यान्वयन गर्ने तर्फ वर्तमान सरकार चुकिरहेको बताउदै कानुन विपरित गम्भिर मानव अधिकार उल्लघंन गरेका व्यक्ति र आजीवन कैद सजाय पाएकालाई अपराधीलाई राष्ट्रपतिबाट माफी दिएर ठुलो गल्ती भएकोे बताउनुभयो ।

कार्यक्रममा निबर्तमान अध्यक्ष तेज प्रसाद आचार्यले पनि संस्थाको सफलताको शुभकामना दिदै संस्थाको कार्यक्षेत्र विस्तार गरेर राष्ट्रिय स्तरमा काम गर्नुपर्ने बताउनुभयो ।

साधारण सभामा वार्षिक प्रतिबेदन सचिव हरिलाल शर्मा, आर्थिक प्रतिवेदन कोषाध्यक्ष शोभा पौडेलले प्रस्तुत गर्नुभएको थियो । संस्थाले आर्थिक बर्ष २०७९।८० को १० करोड २७ हजार बराबरको आयब्यय सार्बजनिक गरेको छ भने आगामी निति तथा कार्यक्रम समेत पारित गरेको छ । लेखा संयोजक हरि अधिकारीले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गर्दै सकारात्मक पक्ष र सुधार गर्नुपर्ने नीतिगत विषयहरु सुझावको रुपमा प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा संस्थाको १३ औं अधिबेशनबाट आगामी २ बर्षका लागि पुनः सूर्य कुमारी शाहीको अध्यक्षतामा ३ सदस्य विभिन्न संजालबाट थप गर्नेगरी १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा हरिलाल शर्मा, सचिवमा दुर्गा अर्याल, सहसचिवमा धु्रव बेल्वासे, कोषाध्यक्षमा शोभा पौडेल निर्वाचित गरेको छ भने सदस्यहरुमा इन्दिरा भट्टराई, हरि अधिकारी, रोमकान्त घिमिरे, सरिता ढकाल, गिता भुसाल र देवकला विक निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक तथा संस्थापक अध्यक्ष सागर प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । साथै लेखा समितिको संयोजकमा तिलोचन घिमिरे, सदस्यमा सिता पौडेल र सन्तोष घिमिरे चयन हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष सूर्यकुमारी शाहीले सामाजिक रुपान्तरण, आर्थिक सामाजिक सशक्तिकरण संगै संस्थागत विकासमा सवैसंग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ११ आश्विन २०८० बिहिबार ००:००  ९ : २२ बजे