१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तिलोत्तमाले तिरायो सडकका रूख काट्नेलाई जरिवाना



बुटवल ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बेलहिया बुटवल ६ लेन सडकको किनारमा लगाइएका रूखहरू काट्नेबाट जरिवाना असुल गरेको छ।

गलत अफवाह फैलाउँदै ६ लेन सडकको दायाँबायाँ र बुद्ध परिपथमा लगाइएका छतिवन (एस्टोनिया) का रूखहरू काट्न थालेपछि नगरपालिकाले जरिवाना असुल गर्न थालेको हो।

केही दिन पहिले ६ लेन सडक र बुद्ध परिपथमा लगाइएका एस्टोनियाका रूखहरू काटिएपछि नगरपालिकाले रूख काट्नेहरूको खोजी गरेको थियो। रूख काट्नेहरूको पहिचान खुलेपछि जनही ५ हजारका दरले हालसम्म ९ जनाबाट ४५ हजार रुपैयाँ जरिवाना लिइएको नगरपालिकाले जनाएको छ।

पहिलो पटकलाई भन्दै जनही ५ हजार रुपैयाँ लिएर सजग बनाउँदै छोडिएको नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए।

६ लेन सडक निर्माणसँगै सडक किनारमा लगाइएका एस्टोनियाका बोटहरूकाबारे नकारात्मक हल्ला फैलाइएपछि सडक किनारका कतिपय स्थानीयले यसअघि पनि हुर्किसकेका बोटहरू काट्ने गरेका थिए।

नगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका श्रीले एस्टोनियाको बारेमा नचाहिने अफवाह फैलाइएको र त्यसका पछाडि नलाग्न आग्रह गरे। नगरपालिकाले विज्ञप्ति नै निकाली कुनै पनि बिरूवा नकाट्न आग्रह गरेको छ।

नगरपालिकाले पाँच वर्ष पहिले नै सुन्दर र हरियाली तिलोत्तमा बनाउने अभियानसँगै सडक किनारमा रूख रोप्ने र सरसफाइ अभियान सञ्चालन गरेको थियो। नगरवासीको अग्रसरतामा ५ वर्ष पहिले लगाएर हुर्किसकेका बोट काटेर नगरपालिकाको अभियानलाई नै विफल पार्न खोज्नेहरूलाई कारबाही गरिएको श्रीले बताए।

वातावरण शाखाका अधिकृत गोरखनाथ खनालले बोटबिरूवा मास्न खोज्नेहरूलाई कानुन अनुसार कारबाही गरिएको बताए।

पहिलो पटकलाई जनही ५ हजारका दरले जरिवाना गरिए पनि फेरि पनि यस्तो कार्य दोहोराए थप जरिवाना गरिने नगरपालिकाले जनाएको छ।

सडक किनारमा लगाइएका एस्टोनियाको पात तथा बोक्राले गर्भवती महिला र पशुचौपायाको गर्भपतन गराउने, यसको हावाले समेत मानिसको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने गलत हल्ला फैलाएपछि नगरपालिकाले यसको परीक्षण समेत गरेको जनाएको छ।

नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवी चौधरीले एस्टोनियाको बारेमा गलत हल्ला फैलाइएपछि विज्ञहरूसँग परीक्षण गरिएको र यसबाट मानिस वा पशुपंक्षी कसैको पनि स्वास्थ्यलाई हानी नपुग्ने पुष्टि भएको बताइन्।

प्रकाशित मिति : १ कार्तिक २०८० बुधबार ००:००  ७ : २० बजे