१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

तराई मधेशमा आज पनि हुस्सु र कुहिरो



काठमाण्डौ – पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई–मधेशमा आज पनि हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो यसअघिको तुलनामा थोरै मात्रामा भए पनि तराईको आकाश खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि पूर्ण रूपमा हुस्सु र कुहिरो हट्ने अवस्था नरहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान छ ।

यसैगरी कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि तराई–मधेशका धेरैजसो ठाउँमा हुस्सु कायमै रहने अनुमान गरिएको छ ।

हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । काठमाण्डौ उपत्यकामा आज पनि झन्डै हिजोजत्तिकै चिसो छ ।

महाशाखाका अनुसार हिजो बिहान काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ९ डिग्री सेल्सियस रहेकोमा आज बिहान ५ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि काठमाण्डौमा सबैभन्दा कम तापक्रम अस्ति पुस १५ गते ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

प्रकाशित मिति : १७ पुस २०८२ बिहिबार ००:००  ८ : २२ बजे