१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

काठमाण्डौको शंखरापुरमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो



काठमाण्डौ ।

काठमाण्डौको शंखरापुर नगरपालिका–३ मा हिजो बेलुकी भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ । २२ जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये तीन जनाको पहिचान खुलेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाण्डौ पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको ज्यान गएको हो । अर्का एक जनाको नाम ठेगाना खुल्न बाँकी छ ।

जर्सीपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको बस शंखरापुरको फेदी जंगलमा सडकबाट करिब एकसय मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइतेहरूको शङ्खरापुर अस्पताल, मूलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल र शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २४ पुस २०८२ बिहिबार ००:००  ८ : ०९ बजे