७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

शवदहन स्थल व्यवस्थित नहुँदा पवित्र लक्ष्मणघाट क्षेत्र दुर्गन्धित



मायादेवी अनलाइन, कपिलवस्तु, १७ भदौ ।
कपिलवस्तुको वाणगङ्गा नदीको लक्ष्मणघाट क्षेत्रमा फोहरले वातावरण दुर्गन्धित बन्दै गएको छ । वाणगङ्गामा दिनहुँजसो हुने दाहसंस्कार पछि फोहर व्यवस्थापन हुन नसक्दा उक्त क्षेत्र दुर्गन्धित बनेको हो ।

शव जलाइसके पछि त्यसबाट निस्कने फोहर नदी किनारमा यत्रतत्र छरिदा नजिकै रहेको प्रमुख धार्मिकस्थल लक्ष्मणघाट र नजिकैको बस्ती समेत प्रदूषित भएको छ ।

जिल्लाको यो शवदहन स्थल लक्ष्मणघाट वाणगङ्गा नदीको वडा नं ७ र त्यसको पारि नगरपालिककै वडा नं ६ मा महत्वपूर्ण धार्मिक लक्ष्मणघाट मन्दिर क्षेत्रमा छ ।

लक्ष्मणघाट क्षेत्र यहाँको प्रमुख पवित्र नदी मध्येको एक मानिएकाले उक्त घाटमा कपिलवस्तु रुपन्देही, अर्घाखाँची लगायतका जिल्लाबाट समेत दाहसंस्कार गर्न ल्याउने हुँदा दैनिक दुई–तीन वटा शवको दाहसंस्कार हुने गरेको लक्ष्मणघाट शवदहान व्यवस्थापन समितिका अध्यक्ष बोम प्रसाद उपाध्यायले बताउनुभयो ।

महत्वपूर्ण तीर्थस्थलमा व्यवस्थित शव दहन स्थान नहुँदा फोहर बढ्दै गएकाले स्थानियबासीको सक्रियतामा व्यवस्थापन गर्नका लागि एक बर्ष अघि समिति गठन भए पनि अझै केहि काम हुन सकेको छैन ।

लक्ष्मणघाट क्षेत्रबाट बहने वाणगङ्गा नदीबाट कपिलवस्तुको दक्षिण क्षेत्रमा सिँचाइका लागि नहर बनाइएकोमा पनि नदीमा बढ्दो प्रदूषणका कारण पानीसँगै बगेर आउने फोहरले समस्या पारेको छ ।

यस बिषयमा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले अब हुदै गरेको नगरसभामा यसको व्यवस्थापन गर्नका लागि योजना बनाउने बताउनुभयो । नगरसभाले नगरभित्रका धार्मिक पर्यटकिय स्थलको संरक्षणमा बिशेष योजना बनाउन लागेको पनि नगर प्रमुख थारुले बताउनुभयो ।

प्रकाशित मिति : १७ भाद्र २०७४ शनिबार ००:००  १ : ४९ बजे