१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

लहानलाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाइने



लहान, ६ कात्तिक ।
सिरहाको लहान नगरपालिकाका नवनिर्वा्चित प्रमुख मुनि साह र उपप्रमुख सरियार चौधरीले लहान नगरपालिकालाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सिरहाको लहानमा आइतबार समग्र जनउत्थान केन्द्रको संयोजनमा हातेमालो अन्तर धार्मिक समिति लहानद्वारा आयोजित शुभकामना आदानप्रदान तथा नवनिर्वा्चित पदाधिकारीको स्वागत तथा सम्मान कार्यक्रममा उहाँहरुले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
लहान नगरपालिकालाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाउनका लागि नगरपालिकाको आगामी बैठकबाट ठोस निर्णय गरी आगडि बढ्ने बताउनुहुँदै नगरप्रमुख साहले लहान नगरपाकिकाको कुनै पनि काममा अनाधिकृतरुपमा सेवाग्राहीमार्फत कसैले रकम लिएको पाइए तत्कालै कारबाही गरिने बताउनुभयो ।
नगरपालिकाकी उपप्रमुख चौधरीले सबै पक्षसँग सहकार्य गरी लहान नगरलाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा आयोजक समितिका संयोजक सुशीलचन्द्र अधिकारीले नवनिर्वा्चित लहान नगरपालिकाका प्रमुख साह, उपप्रमुख चौधरीलगायत सम्पूर्ण वडा अध्यक्षलाई दोसल्ला ओढाइ सम्मान गर्नुभयो ।

ट्राफिक प्रहरीद्वारा तीन दिनमा ३७१ सवारी साधन माथि कारबाही
जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले विगत तीन दिनको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ३५० भन्दाबढी सवारीसाधनमाथि कारबाही गरेको छ ।
दीपावली, गोवद्र्धन पूजा र तिहारको दिन गरी तीन दिनको अवधिमा ३७१ सवारीसाधनमाथि कारबाही गरी रु दुई लाख पाँच हजार जरिवाना संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख एवं प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिनुभयो ।
पूर्व–पश्चिम राजमार्ग तथा जिल्लाको भित्री सडकमा गरिएको सवारी जाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने २२३ मोटरसाइकल तथा १४८ वटा चारपांग्रे सवारीसाधन माथि कारबाही गरिएको प्रमुख चुँडालले बताउनुभयो ।
चाडपर्वका बेला तीव्ररुपमा ट्राफिक नियम उल्लंघन हुने गरेकाले प्रहरीले सवारी जाँचलाई तीव्र पारेको छ । (रासस)

प्रकाशित मिति : ६ कार्तिक २०७४ सोमबार ००:००  ४ : ०७ बजे