१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

प्रध्यापन पेशा छाडेर मौरीपालनबाट मनग्य आम्दानी



दीपा महत, कपिलवस्तु, १५ पुस ।
हातमा डबल डिग्रीका सर्टिफिकेट, आधा दर्जन क्याम्पस, कलेज र विद्यालयमा अध्यापन गराएको अनुभव कपिलवस्तु वाणगंगाका अर्जुन प्रसाद पोख्रेल सामु छ । समाजमा नाम, दाम र इज्जतबाट आफ्नो परिचय स्थापित गरेका पोख्रेल अहिले कृषकको रुपमा परिचित छन । अहिले उनको जीवन फेरिएको छ । गाउँघरमा मास्टरको परिचय बनाएका उनले अहिले व्यावसायिक मौरीपालक किसानको रुपमा परिचय बनाएका हुन । यिनै पोख्रेल पछिल्लो समय जिल्लामा परिश्रम गर्नलाई केहिले छेक्दैन भन्ने गतिलो उदाहरणका स्रोत पनि बनेका छन । ४५ बर्षिय उनले डेढ दशक देखि व्यवसायिक मौरीपालन पेशा अगाल्दै आएका हुन । वि.सं. २०६० सालमा २० घार मौरीबाट शुरु गरेका मौरी पालन व्यवसायलाई अहिले फष्टाएर १ सय घार पु¥याएका छन । अझै १ हजार घार मौरी पाल्ने योजना बनाएको उनले बताए । ‘अब प्रध्यापन पेशा पनि छाँडे उनले भने, १ हजार घार मौरी पाल्ने योजना बनाएको छु ।’
मौरी पालनका लागि रु.४० लाखको लगानी लगाएका उनी अहिले विभिन्न जिल्लामा मौरी चराउन व्यस्त छन । मौरी चरणको लागि राम्रो सिजन भएको कारण उनी व्यस्त भएका हुन । कार्तिक र मंसिर महिनामा मौरी बोकेर चरन खोज्दै प्युठान पुगेका उनी अहिले कपिलवस्तु झरेका छन । अहिले तोरी फूल्ने समय भएको कारण उनलाई मौरी चराउन भ्याईनभ्याई छ ।
डबल डिग्रीका सटिफिकेट बाकसमा थन्काएका उनले बार्षिक ४० क्विन्टल मह उत्पादन गर्छन । मौरीको मह, मैन र गोला गरि उनले बार्षिक ३० लाखको आर्थिक कारोबार गर्दै आएको बताउँछन । सबै खर्च कटाएर बार्षिक १५ लाख चोखो बचत गर्ने गरेको उनले सुनाए । श्रीमान श्रीमती मिलेर मौरी पालन व्यवसाय शुरु गरेका न्यौपानेले आफु बाहेक अन्य पाँच जनालाई रोजगारी पनि दिएका छन । साथमा मौरीको मह बेच्ने अर्जुन बेस्ट हनी नामको पसल पनि सञ्चालन गरिरहेका छन । पसलबाट पनि राम्रै कारोबार हुने उनले बताए । “ आफुले उत्पादन गरेको मह, अन्य किसानले उत्पादन गरेको मह ग्राहकलाई बेच्ने गरेको छु, उनले भने, ‘त्यसबाट पनि मनग्य कमाई छ ।’
अर्थशास्त्र र समाजशास्त्रबाट पोख्रेलले डिग्री गरेका हुन । उनले काडमाण्डौको रत्नराज्य उच्च मावि, कैलाशकुट बहुमुखी क्याम्पसमा अध्यापन गराएर अनुभव संगालेका छन । कपिलवस्तुका दर्जन बढी क्याम्पस, कलेज र विद्यालयमा अध्यापन गराई सकेका छन । अध्यापन जस्तो पेशा छाडेरै मौरी पालनमा किन सक्रिय भएको भन्ने प्रश्नमा उनी भन्छन, “मौरी मै राम्रो कमाई हुने देखेर प्रध्यापन पेशा छाडेको हुँ ।”
देशका लाखौ युवा विदेशको खाडीमा छन्, उनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरि नेपाल फर्काउनुपर्ने छ उनले भने, ‘त्यो काम आफु जस्ता पढे लेखेका बाटै शुरुवात गर्नुपर्ने देखेर मौरी पालन व्यवसाय थालेको हुँ ।’ यस व्यवसायबाट आफु संगै अरुलाई पनि पनि रोजगारी दिन सकिन्छ नले भने ।
नेपाल मौरी पालन केन्द्रिय सहकारी संघ लिमिटेडका अध्यक्ष समेत रहेका पोख्रेल देशलाई महमा आत्म निर्भर बनाउने अभियानमा लागेको बताउँछन । अझै पनि मह उत्पादनमा देश आत्म निर्भर नएको उनले बताए । अझै पनि राज्यले ६० प्रतिशत मह विदेशबाट निर्यात गर्दै आएको उनले दाबी गरे । इजरायलमा एक महिना बसेर अन्तरािष्ट्रय मौरीपालन तथा मौरी व्यवस्थापन एकेडेमिक कोर्स गरेका उनले मौरी पालन संगै मौरी पालन गर्न चाहने कृषकलाई तालिम पनि दिदै आएका छन ।
जिल्लामा ३ सय बढी किसानले व्यवसायिक रुपमा मौरी पालन व्यवसाय गरेको वाणगंगा मौरीपालन सहकारी संस्थाले जनाएको छ । जिल्लामा मौरीपालनको लागि चरण क्षेत्र राम्रो मानिएकाले व्यवसाय फष्टाएको सहकारीका अध्यक्ष लिलापती घिमिरेले बताए । यहाँ दलहन, तेलहन प्रशस्त मात्रामा लगाइने भएको कारण मौरीपालनका लागि राम्रो भएको उनले बताए । साथै साल, सिसौ, जगंली रुदिलो पनि राम्रै भएकोले तिनको फूल मौरीको लागि राम्रो आहार हुने किसान बताउँछन । यहाँ मेलिफेरा जातको मौरी पालिने गरिएको छ ।
जिल्ला कृषि बिकास कार्यालयले जिल्लामा कति संख्यामा मौरी पालक किसान छन यथेष्ट जानकारी नभएको जनाएको छ । किसानले व्यवसाय सञ्चालन गर्ने तर कार्यालयलाई जानकारी नगराउँदा समस्या देखिएको कार्यालयका अधिकृत खुर्सेद अहमद खाँले बताए ।

प्रकाशित मिति : १५ पुस २०७४ शनिबार ००:००  १ : ३७ बजे