१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कालिकोटका आगलागी पीडितको घर प्रदेश सरकारले बनाइदिने



सुर्खेत ।
कालिकोटका आगलागी पीडितका लागि घर निर्माण गर्न कर्णाली प्रदेश सरकारले पाँच लाख दिने भएको छ ।

पलाता गाउँपालिका वडा नम्बर–१, न्यौपानेखाडा गाउँका आगलागी पीडित परिवारको पुनःस्थापनाका लागि पुर्नस्थापना कार्यक्रम सञ्चालन गरेर आवास निर्माणको काम प्रदेश सरकारले जिम्मा लिने निर्णय गरेको हो ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोग र प्रतिपरिवार पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । सरकारको प्रवक्तासमेत रहेकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले शनिबार पत्रकार सम्मेलन गरेर निर्णयहरु जानकारी गराउँदै एकीकृत बस्ती विकासकै मोडलमा प्रदेश सरकारले आवास निर्माण गर्ने बताउनुभयो ।

उहाँले आगलागी पीडितहरुको पुनःस्थापनाका लागि अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँग समन्वय गर्ने बताउनुभयो । उहाँले परिवारको व्यक्तिको खातामा रकम नहालिदिएर प्रदेश सरकारले आफै एकीकृत बस्ती विकासको मोडल अनुसार घरहरु निर्माण गरिने जानकारी दिनुभयो ।

‘हामीले आवास निर्माणका लागि प्रदेश सरकारले आफै जिम्मा लिन्छ । नक्सा कोर्ने, प्राविधिक सहयोग सबै प्रदेशको हुन्छ । प्रदेश सरकारकै कोषबाट रकम दिन्छौँ’, उहाँले भन्नुभयो, ‘नमुना बस्तीको रुपमा विकास गरेर हामीले आवास हस्तान्तरण गर्छौँ । यसको नेतृत्व प्रदेश सरकारले लिन्छ । ’ उहाँले आगलागी भएकै ठाउँमा आगलागीबाट ध्वस्त भएको संरचना पन्छाएर घरहरु निर्माण गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ६ : ३७ बजे