५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पाध्यालाई सरुवा भएको स्थानमा पठाउन मन्त्रालय समक्ष आग्रह



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरकार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याको सरुवा भएको दुई हप्ता नवित्दै पुनः कार्यालयमा हाजिर हुन लागेको विषयलाई अप्रत्यासित भनेको छ ।
नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रमुख प्रशासकीय अधिकृत पाध्यालाई कार्तिक दोस्रो हप्ता भित्र सरुवा भएको स्थानमा व्यवस्था मिलाउन माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समक्ष पत्र पठाउने निर्णय गरेको छ ।


मन्त्रालयले पाध्यालाई असोज १ गते नै सरुवा गरेर पश्चिम रुकुमको मुसीकोट नगरपालिका पठाएको थियो । पाध्याको सरुवा भए पश्चात शेषकान्त पौडेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा असोज ५ गते कार्यालयमा हाजिर हुनुभएको थियो । तर, यो निर्णय एकाएक परिवर्तन गरी असोज १२ गते सोमबार पाध्या पुनः बुद्धभूमिमा हाजिर हुनु आउनुभएको थियो ।
यो निर्णयलाई नगर कार्यपालिकाले अप्रत्यासित भनेको छ । कार्यालय हाजिर हुनुभएका पौडेल भने एक हप्ता भित्रै सरुवा हुनुभएको बताइएको छ । एक पटक सरुवा भई गएको कर्मचारीलाई पुनः एक हप्तामा थमौती गर्दा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत बीचमा असमझदारीको दुरी बढ्न जाने व्यहोरा स्वभाविक रहेको भन्दै नगर कार्यपालिकाको बैठकले उक्त समस्या समाधानका लागि मन्त्रालय समक्ष आग्रह गरेको छ ।
पाध्याको पुनः आवगमन पछि नगरपालिकाका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
यता पाध्याले भने आफुलाई नगरपालिकामा काम गर्न नदिएको भन्दै आपत्ति जनाउनुभएको छ । कर्मचारी सरुवा, बढुुवा स्वभाविक रहेको भन्दै यसमा जनप्रतिनिधिलाई चासो हुन नहुने उहाँको भनाई छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६ मंगलबार ००:००  ५ : १८ बजे