१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

समाजका अवरोध र बाधा हटाउन शिक्षा अपरिहार्य : साँसद पन्थी


११ पुस २०७६ शुक्रबार ००:००  

0
Shares

मायादेवी अनलाइन, चारनम्बर ।
प्रदेश साँसद विष्णु पन्थीले शिक्षा नै विकासको मुल आधार भएको बताउनुभएको छ । उहाँले समाजका अवरोध र बाधाहरु हटाउन शिक्षाको महत्वपूर्ण भूमिका हुने भएकाले शिक्षामा लगानी आवश्यक भएको बताउनुभयो । वाणगंगा नगरपालिका वडा नम्बर ८ उदयपुर मोर्मी स्थित जनसेवा आधारभूत विद्यालयको ३८ औँ अभिभावक भेला तथा सम्मान कार्यक्रममा यस्तो कुरा बताउनुभएको हो । उहाँले वाणगंगा नगरपालिका शैक्षिक हबको रुपमा विकास भई प्रदेशमै उत्कृष्ट बन्ने गरी विद्यालय, अभिभावक र जनप्रतिनिधीले काम गर्नुपर्ने बताउनुभयो । स्थानीय सरकारले शिक्षालाई प्राथमिकता दिएर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै प्रदेश सरकारसंग सहकार्य गरेर जानुपर्ने बताउनुभयो । विद्यालयले ३८ वर्ष पुरा गरेको सन्दर्भमा साँसद पन्थीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर संगै विद्यार्थीको संख्या बृद्धि गर्नुपर्नेमा सुझाव दिनुभएको छ । उहाँले विद्यालयमा भौतिक संरचना निर्माणमा आवश्यक सहयोग जुटाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधि भुसालले वडाको शैक्षिक विकास लागि योजनाबद्ध ढंगबाट आफुले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले वडामा रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यालयको पूर्वाधार विकासमा नगरपालिका, प्रदेश सरकारसंग आवश्यक समन्वय गरेको बताउनुभयो ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमूख बाबुराम भट्टराईले विद्यार्थी संख्या र शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावक सकृय हुनुपर्ने बताउदै नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक ज्ञानप्रसाद पाण्डेले विद्यालयको शैक्षिक तथा विद्यालयको समग्र अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सोहि कार्यक्रममा विद्यालयको स्थापना देखि हालसम्म विभिन्न समयमा सहयोग गर्नुभएका ६ जना संस्थापक तथा पूर्व शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सांंस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन शिक्षक राजेन्द्र खनालले गर्नुभएको थियो ।
सोही अवसरमा अभिभावकको बार्षिक भेलाले आगामी तीन वर्षका लागि पार्वती थापाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको छ भने दुर्गा रेग्मीको अध्यक्षतामा विद्यालय शिक्षक अभिभावक संघ पनि गठन भएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६ शुक्रबार ००:००  १० : ३९ बजे