७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चिसोको कहरः गाउँ गाउँ पुगेर ‘न्यानो सिरक’ बाड्दै बुद्धभूमिका मेयर



दीपा महत, बुद्धभूमि ।
पुष महिनासंगै बढेको चिसोका कारण सर्वसाधारणलाई निकै सास्ती भएको छ । शितलहरसंगै तुसारो पर्दा सर्वसाधारणलाई दैनिक जीवनयापन गर्न पनि मुस्किल छ । चिसोको मारमा सबै भन्दा बढि, बृद्धबृद्धा, बालबालिकाहरु परेका छन् भने मजदुरहरुलाई पनि समस्या उस्तै भएको छ । केही दिन देखिको जाडोले गरिव तथा विपन्न वर्गलाई झनै समस्या परेको हो ।
जाडोको समयमा न्यानो कपडा नहुँदा उनीहरुलाई गरिब तथा विपन्न बर्गलाई बढी समस्या भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले भने नगरबासीलाई न्यानो कपडा वितरण गरेर गरिब तथा विपन्न वर्गको मनमनमा बस्न सफल भएको छ ।
चिसोको समयमा गरिव तथा विपन्नलाई समस्या हुने भन्दै नगरपालिकाले नगरवासीलाई न्यानो सिरक वितरण गरेको छ । नगरपालिका अन्तरगत वडा नम्बर १०, ६ र ४ का गरिव, विपन्न, अशक्तलाई नगरपालिकाले न्यानो सिरक वितरण गरेको हो ।
मंगलबार वडा नम्बर १०, ६ र ४ का वडाबासीलाई नगर प्रमुख केशव कुमार श्रेष्ठ गाउँ गाउँ पुगेर न्यानो सिरक वितरण गर्नुभयो । गाउँटोल मै पुगेर नगर प्रमुख श्रेष्ठले न्यानो सिरक बाड्दा गरिब तथा विपन्न परिवारको मुहारमा खुसीको चमक देखिएको थियो । न्यानो सिरक बाड्दै नगर प्रमुख श्रेष्ठले नगरभित्रका अति विपन्न परिवारलाई चिसोको समयमा केही राहत हुने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने भन्दै नगरपालिका सधै जनाताको सेवामा लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।
मंगलबार तीन वडाका १ सय जनालाई न्यानो सिरक वितरण गरिएको छ । नगरले यही १८ गते पनि थप न्यानो सिरक विरतण गर्ने जनाएको छ । चिसोमा न्यानो सिरक पाएपछि सर्वसाधारण खुसी देखिन्थे । कठ्याङ्रिदो चिसोले समस्या भएको बेला नगर प्रमुखबाट सिरक पाएको भन्दै वडा नम्बर १० धनकौली निवासी बृद्धा सुभावती कोरीले श्रेष्ठलाई धन्यवाद दिनुभयो । “बढ्दो चिसोले दैनिकी कष्टकर बनेको थियो नगरपालिकाका नगर प्रमुख श्रेष्ठले दिएको सिरकले केही भएपनि राहत मिल्ने छ उहाँले भन्नुभयो ।” कोरी जस्तै ढडीहवाकी मुसीया थारुले पनि नगरपालिकाले वितरण गरेको सिरकले यसपालीको जाडो टर्ने जनाउनुभयो । यस्तै नगरले विद्यार्थीलाई स्विटर वितरण गर्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७६ मंगलबार ००:००  ७ : १६ बजे