२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

वाणगंगा नगरपालिका र फाउण्ड परियोजना बीच सम्झौता



दीपा महत, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका र फाउण्ड परियोजना बीच ४ वर्षे सम्झौता भएको छ । परियोजनाले कुष्ठरोगका कारण अपाङ्गता भएका र अन्य कारणले अपाङ्गता भएका ब्यक्तिहरुलाई रोजगारीको सिर्जना गर्ने छ । मंगलबार जितपुरमा नगरपालिकाका उपमेयर चक्र अर्याल र परियोजनाका प्रबन्ध निर्देशक चिरन्जिवि शर्माबीच उक्त परियोजनामा सम्झौता भएको हो ।
कार्यक्रममा बोल्दै उपमेयर चक्र अर्यालले नगरपालिकालाई अपाङ्गमैत्री बनाउन लागेको बेला फाउण्ड परियोजनाले अपाङ्गता भएका ब्यक्तिका लागि गर्न लागेको कार्यक्रमले नगरलाई अपाङ्गमैत्री बनाउन सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । अपाङ्गता भएका ब्यसक्तको लागि कुन क्षेत्रमा कति बजेट आवश्यक हो त्यसको लागि छलफल गरी बजेट छुट्याउने बताउनुभयो ।
नगरपालिकासंग नगरभित्रका अपाङ्गता भएका ब्यक्तिको सम्पूर्ण विवरण भएको भन्दै सोही आधारमा काम गर्ने र चाडै नै नगरलाई अपाङ्गमैत्री नगर घोषणा गर्ने जिकिर गर्नुभएको छ । नगरपालिकाले परियोजनासंग सहकार्य गर्न तयार रहेको भन्दै पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
यस्तै वाणगंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले नगरपालिकामा आएको कार्यक्रमको उद्देश्य र त्यसको प्रभावकारीताका आधारमा नगरपालिकाले बजेट विनियोजन गर्ने बताउनुभयो । यस्तै अपाङ्ग उत्थान समाज कपिलवस्तुका ढाकाराम अधिकारीले अपाङ्गता भएका ब्यक्तिका लागि आएको कार्यक्रम राम्रो भएपनि प्रभावकारी कार्यन्वयन भएमा मात्र सफल बन्ने बताउनुभयो ।
सामाजिक विकास समितिका संयोजक भिष्मराज भुसालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सामाजिक विकास अधिकृत बुद्धीसागर सुवेदीले गर्नुभएको हो । परियोजनाको बारेमा जानकारी दिदै फाउण्ड परियोजनाका निर्देशक चिरन्जीवी शर्माले अपाङगता भएका ब्यक्तिलाई उनीहरुको आवश्यक्ता र क्षमता अनुसार तालिम सञ्चालन गरी रोजगारी सिर्जना गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको बताउनुभयो । त्यसको लागि उद्योग वाणिज्य संघसंग सहकार्य गर्ने उहाले बताउनुभयो ।

प्रकाशित मिति : १४ माघ २०७६ मंगलबार ००:००  ८ : ०९ बजे