२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

बिद्यालय क्षेत्रलाई लागु औषध दुव्र्यसनीको निषेधित क्षेत्र तोकौंः मेयर श्रेष्ठ



बाबुराम रायमाझी, गोरुसिंगे ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले कानून विपरित अवैध रुपमा कार्य भएको थाहा भएमा सम्वन्धित ठाउँमा सूचना गर्नुपर्ने बताउनुभएको छ । विशेष गरेर बिद्यालय क्षेत्रलाई लागु औषध दुव्र्यसनीको निषेधित क्षेत्र तोक्नुपर्नेमा नगर प्रमुख श्रेष्ठले जोड दिनुभयो ।
बिद्यालयको समयमा व्यवसायीहरुलाई लागु औषधको बिक्री वितरणमा रोक लगाउनुपर्ने र यसका विरुद्ध बिद्यार्थी, अभिभावक बीचमा सचेतना जगाउनुपर्ने बताउनुभयो । नगरका १० वटै समिति बनी क्रियाशिल भइरहेको भन्दै लागु औषधको ट्रान्जिट प्वाईन्टमा प्रहरी समुदायबाट विशेष निगरानी गरी निरुत्साहित पार्नुपर्ने कुरामा बोलेका थिए ।
ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख कृष्ण रानाले पालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रमबाट भएका प्रगतीको बारेमा जानकारी गराउँदै आगामी कार्यक्रमको रणनितिको बारेमा जानकारी गराउनुभयो ।


प्रहरीले आम नागरिक, स्थानीय सरकार, प्रदेश सरकारसंग मिलेर, समाजमा रहेका बिकृति विसंगतीको निराकरण गर्न र समाजमा शान्ति सुरक्षा कायम गर्नुपर्ने भन्दै प्रायः १६ देखि १८ वर्षसम्मका बालबालिकाहरुबाट धैरै अपराधिकजन्य घटना हुने गरेको कार्यक्रम बताइएको थियो ।
वडा नं.१ का वडाध्यक्ष तिलक वस्नेत, समाजसेवी पिताम्बर खनाल, राम प्रसाद न्यौपाने, गौतमबुद्ध माविका प्राचार्य शिशिर अर्याल लगायतले सुझाव सहित आ–आफ्नो धारणा राख्नुभएको थियो । अन्तरक्रिया कार्यक्रमबाट महत्वपूर्ण निर्णय गरिएको छ । नगरका सम्वेदनशिल स्थानहरुमा सिसि टिभि जडान गर्ने, लागु पदार्थ दुव्र्यसनी विरुद्ध बिद्यालय तहमा सचेतना कार्यक्रम गर्ने, वाल विवाह बिरुद्ध जनचेतना जगाउने, सम्वेदनशिल क्षेत्रमा प्रहरी गस्ती बढाउने, मदिरा नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्ने रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७६ बुधबार ००:००  १० : ५५ बजे