काठमाडौं ।
वालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराइ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघमा मुद्दा दर्ता गरेका कांग्रेस उपसभापति विजयकुमार गच्छदार अझै सांसदको हैसियतमा पार्टीमा काम गरिरहेका छन् । सांसद पदबाट निलम्बित भए पनि गच्छदारले प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको उपनेताका रुपमा काम गरिरहेका हुन् ।
भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा अख्तियारले मुद्दा दर्ता गरेपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार गच्छदारको सांसद पद २२ माघदेखि नै स्वतः निलम्बनमा परेको संसद सचिवालयले २४ माघमा सूचना प्रकाशित गरी जानकारी गराएको थियो ।
सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्षतर्फ निर्वाचित गच्छदार अझै उपनेताको हैसियतमा रहेको कांग्रेसले जनाएको छ ।
‘अख्तियारले उहाँविरुद्ध पूर्वाग्रही भएर मुद्दा दायर गरेपछि उहाँको उपनेता पद के हुने भन्ने विषयमा कुनै छलफल भएको छैन,’ कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भूषालले शिलापत्रसँग भनिन् ।
भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएपछि पार्टीले समेत गच्छदारको उपसभापति पद के हुने भन्ने विषयमा स्पष्ट पारेको छैन् ।







प्रतिक्रिया