२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

प्रदेश २ मा सरकार परिवर्तन हुन सक्छः प्रचण्ड



जनकपुर ।
मिथिलाञ्चल क्षेत्रको महाकुम्भको रूपमा रहेको १५ दिने मिथिला मध्यमा परिक्रमाको यस वर्षको शुभारम्भ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले डोला उठाएर गरेका छन् ।

नेपाल–भारतबीच सांस्कृतिक सम्बन्ध कायम राख्दै आएको मध्यमा परिक्रमामा धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट डोला र जनकपुरको रत्नसागर मन्दिरबाट माता सीताको डोलाको प्रमुख सहभागिता रहने गरेको छ ।
दुवै मन्दिरबाट उठेका डोला जनकपुरधामको हनुमान नगरस्थित हनुमानगढीबाट परिक्रमाका लागि सँगै उठेपछि औपचारिक शुभारम्भ हुने परम्परा रहँदै आएको छ । तर, यस वर्ष परिक्रमा प्रस्थानको अध्यक्ष प्रचण्डले मिथिला बिहारीको डोला उठाएर शुभारम्भ गरेका हुन् । डोलासँगै हजारौँ व्यक्तिले परिक्रमा गर्ने गर्छन् ।
डोला उठाउने अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश २ मा सरकार परिवर्तन हुने दाबी गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले प्रदेश २ को सरकार परिवर्तन हुने भन्दै यसका लागि राजपा नेपालसँग आन्तरिक वार्ता र गृहकार्य भइरहेकाले गृहकार्य सम्पन्न भएलगत्तै प्रदेश सरकार फेरिने बताए ।
उनले मिथिला बिहारी नगरपालिकास्थित कचुरीको मिथिला बिहारीको मन्दिर छेउमा धर्मशाला बनाउने घोषणा पनि गरे । उनले भने, ‘यहाँ धर्मशाला बनाउन अत्यन्त जरुरी छ । मेरोतर्फबाट सम्भव भएसम्म सहयोग गर्छु । कुनै कमी रहन दिन्नँ ।’
मिथिला मध्यमा परिक्रमा नेपाल–भारतका लागि महाकुम्भ भएको भन्दै अध्यक्ष प्रचण्डले दुवै देशको धार्मिक संस्कृति आदान प्रदानमा ठूलो योगदान पु¥याइरहेको बताए । आफू पहिलो पटक प्रधानमन्त्री रहेका बेला परिक्रमा मार्गका लागि सहयोग गर्ने अवसर पाएको स्मरण गर्दै उनले मिथिला बिहारी परिषद् गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
उक्त अवसरमा मिथिला विहारी डोलामाथि हेलिकोप्टरबाट पुष्पवर्षासमेत गरिएको छ ।
फागुन शुक्ल औँशीका दिन कचुरीबाट मिथिला बिहारीको डोला जनकपुरधामस्थित रत्नसागर मन्दिर पुग्दै हनुमाननगरमा विश्राम गरी सोमबार बिहानै भारतको कलनास्थित कल्याणेश्वर मन्दिरका लागि प्रस्थान गर्नेछन् ।
१५ दिने अवधिमा १५ वटा धार्मिक र ऐतिहासिक ठाउँहरूमध्ये ९० किलोमिटर नेपाल र ३० किलोमिटर भारतको गरी जम्मा १ सय २० किलोमिटर भूभागको यात्रा मिथिला मध्यमा परिक्रमाअन्तर्गत गरिने परम्परा छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६ आइतबार ००:००  ३ : ४६ बजे