१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

महिला लक्षित तालिम संचालन गरियो, उपलब्धी देखिएनः वडाध्यक्ष पन्त



दीपा महत, चारनम्बर ।
वाणगंगा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बालकुमारी पन्तले वडाले महिलालाई दिने विभिन्न तालिमहरुको महिलाले अपनत्व नलिएको बताउनुभएको छ । आफ्नै अग्रसरतामा विगतका वर्षमा महिला लक्षित विभिन्न तालिम संचालन गरेपनि त्यसको कुनै फल नदेखिएको उहाँले बताउनुभयो ।
नगरको महिला तथा बालबालिका समिति संयोजक समेत रहनुभएकी वडाध्यक्ष पन्तले वडा नं. १ ले दिएको विभिन्न तालिम निष्प्रभावी बनेको बताउनुभयो । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम सम्पूर्ण आकाशमा कुराकानी गर्दै वडाध्यक्ष पन्तले महिलाहरुमा विभिन्न तालिम लिनको लागि इच्छाशक्ती नै नदेखाएकाले अहिलेको वर्ष कुनै तालिमका लागि बजेट नै नछुट्टाएको प्रष्ट्याउनुभयो । सीपले मानिसलाई सवल बनाउने भन्दै सम्पूर्ण महिलालाई सिप सिकेर आत्मनिर्भर बन्न उहाँले आग्रह गर्नुभएको छ ।
नगरपालिकामै एक मात्र महिला वडा अध्यक्ष पन्तले मेयर, उपमेयर लगायत अन्य वडा अध्यक्षहरुसंगै बसेर काम गर्दा अहिलेसम्म कुनै समस्या नआएको बताउनुभयो । सबै जनप्रतिनिधिबाट सहयोग मिल्ने गरेको उहाँको बभनाई छ । तर, सिंगो नगरपालिकामा कुनै अर्को वडा अध्यक्ष महिला वा उपमेयर महिला भएको भए अझ सहज हुने उहाँले अनूभुती व्यक्त गर्नुभयो ।
आफु दिनरात वडाको विकासका लागि खटिएको भन्दै आफ्नो कार्यकालमा वडालाई नमुना बनाउने गरी लाग्ने प्रतिबद्धता जनाउनुभयो । आफु विद्यार्थी जीवनबाट नै राजनीतिमा होमिएको भन्दै अहिलेको अवस्थासम्म आउनको लागि निकै संघर्ष र त्याग गर्नुपरेको सुनाउनुभयो । कुनै पनि महिला सफल हुनको लागि उसको घर परिवारको भूमिका महत्वपूर्ण हुने भन्दै घरपरिवारले साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय महिलामाथि हुने गरेका विभिन्न हिंसाहरुको चर्चा गर्दै वडाध्यक्ष पन्तले मानिसमा मानवता भन्ने हराउन थालेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । पछिल्लो समय मानिसमा धर्म भन्ने कुरा हराउन थालेको भन्दै मानिस अहंकारी बन्दा यस्ता घटना बढी हुन थालेको बताउनुभयो ।
महिला माथि हुने विभिन्न घटना रोक्नको लागि अब घरबाटै राम्रो संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । यदि घर परिवारबाट बालबालिकालाई राम्रो संस्कार दिएमा यस प्रकारका घटनाहरु कम हुने उहाँको विश्वास छ ।
हेर्नुहोस वडाध्यक्ष पन्तसंग गरिएको कुराकानी ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६ शुक्रबार ००:००  ११ : ०६ बजे