१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

कस्ले बोक्ला कृष्णनगरका शाह परिवारको राजनीतिक विरासत ?



दीपक अनुरागी, (कृष्णनगर) कपिलवस्तु ।
कृष्णनगरका शाह परिवारलाई राजनीति वृत्तमा नचिन्ने कमै होलान । राणा शासनको अन्त्य प्रश्चात देशमा प्रजातन्त्र, निरङ्कुश पञ्चायत, बहुदल हुँदै लोकतन्त्र, गणतन्त्रसम्म पनि शाह परिवारको कुनै न कुनै तरिकाबाट राजनीतिमा आवद्धता छ । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा दशकौं देखि बसोबास गर्दै आएका शाह परिवारबाट राजनीति कसैले खोस्न सकेका छैनन् ।

तत्कालिन अवस्थामा राजाको ठाडै नियुक्तिमा पनि विशेष प्राथमिकतामा पर्ने यो शाह परिवार लोकतान्त्रिक प्रतिस्पर्धामा पनि उत्तिकै ‘पावरफूल’ छ । देशका ठूला–ठूला नेता चुनावमा हारेका थुप्रै उदाहरण छन् तर यो शाह परिवार सितिमिती चुनाव हारेको रेकर्ड भेटिदैन । यो परिवार भित्र आउने विद्रोहले बेला–बेला राजनीति बृत्तमा भने चर्चा परिचर्चा पाउने गर्छ ।

प्रजातन्त्र स्थापना पश्चात २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा दुईतिहाई बहुमत ल्याउँदै नेपाली कांग्रेसका संस्थापक विपि कोइराला प्रधानमन्त्री बने । त्यही कोइरालाको ‘क्याबिनेट’मा अटाउन सफल नेता हुन् शिव प्रताप शाह । शिव प्रताप कोइरालाको मन्त्रीमण्डलमा अर्थ सहायक मन्त्री बनेका थिए । पछि तत्कालिन राजा महेन्द्रले देशमा निरङ्कुश पञ्चायत लादे । त्यस बेला राघवेन्द्र प्रताप शाह कृषि सहायक मन्त्री बनेका थिए । तत्कालिन अवस्थामा राजा पक्षधरमा लागेका राघवेन्द्र दुरसञ्चार सहायक मन्त्री समेत बनेका थिए । नाताले शिव प्रताप र राघवेन्द्र दाजुभाई हुन ।

शिव प्रताप र राघवेन्द्र केन्द्रिय मन्त्री बनेपनि राघवेन्द्रका छोरा गौरव प्रताप शाह (विक्कु वाबु भनेर चिनिने) ले कपिलवस्तुको राजनीतिमा वलियो पकड राख्थे । केन्द्रिय मन्त्री नबने पनि गौरव प्रताप पटक–पटक जिल्ला विकास समितिको सभापति भएर काम गरे । धैरे बर्ष अस्पतालको अध्यक्ष भएर पनि उनले काम गरेका थिए । उनका पालामा कपिलवस्तुको विकासले केही फड्को मारेको जिल्लाबासी स्मरण गर्छन ।

शाह परिवारमा शिव प्रताप, राघवेन्द्र प्रतापको निधन भैसकेको छ भने राघवेन्द्रका छोरा गौरव प्रताप पनि स्वर्गीय भैसकेका छन । अब शाह परिवार भित्र डा. रुद्र प्रताप मात्र पाका–पुस्तामा पर्दछन । रुद्र प्रतापले जीवनभर चिकित्सकको रुपमा सेवा दिए । बृद्ध उमेरका रुद्र प्रताप अहिले पनि चिकित्सकको रुपमा काम गर्दै आएका छन । कृष्णनगरमा उनको मेडिकल छ ।

शाह परिवारको विरासत कसले बोक्दै छ ?

बुवाहरुको राजनीति ‘शेख’ पछि विस्तारै शाह परिवारमा एक पछि अर्को राजनीतिमा उदाउन थालेका छन । सबैभन्दा कान्छो सभासदको रुपमा पहिलो संविधानसभाको निर्वाचनमा चुनाव जितेका अभिषेकप्रताप पछिल्लो शाह परिवारका ‘पावरफूल’ नेताका रुपमा चिनिन्छन । पहिलो र दोस्रो संविधानसभामा अभिषेक प्रताप सभासदको रुपमा संसद भवन भित्र छिरे भने तत्कालिन मधेसी जनअधिकार फोरमको उप–महासचिव समेत बने । मधेस आन्दोलन पश्चात भएको पहिलो संविधानसभाको निर्वाचनमा मधेस केन्द्रित दलको मधेसमा दबदबा थियो । त्यति बेला मधेस केन्द्रित दलहरु संविधानसभा भित्र शक्तिशालीका रुपमा उदाएका थिए । यद्यपि दोस्रो संविधान सभा निर्वाचनमा मधेस केन्द्रित दल तराईबाट नराम्रेरी हार व्यहोर्दा अभिषेक प्रताप शाहले भने कपिलवस्तुबाट चुनाव जितेका थिए । त्यो बेलाको नतिजाले शाह परिवार राजनीतिमा कति ‘पावरफूल’ छ भन्ने प्रष्ट देखाएको थियो ।

अभिषेक प्रतापसंगै शाह परिवारमा रजत प्रताप शाह पनि राजनीतिमा उदाउँदै जान थालेका छन । नाताले रजत प्रताप अभिषेक प्रताप शाहका काका हुन । राघवेन्द्र प्रतापका छोरा हुन रजत प्रताप शाह । गाउँ समाजको राजनीतिमा सक्रिय रहेपनि रजत प्रताप पार्टीका उच्च नेताको ओहदामा पुगेका थिएनन । न त कुनै लाभको पदमा नै आशिन थिए । गत स्थानीय तहको निर्वाचनमा उनी स्वतन्त्र रुपमा मेयर पदमा जिते पछि एकाएक देशभर चर्चा चुलियो । मिजाशिलो स्वभाव र जनताको बीचमा मज्जाले भिज्न खोज्ने रजत प्रताप भविष्यमा शाह परिवारबाट राजनीतिमा बलियो खम्बाका रुपमा उदाउने धेरैको अनुमान छ । रजत प्रताप शाहसंगै अभय प्रताप शाह र शैलेश प्रताप शाह पनि राजनीतिमा विस्तारै उदाउन थालेका छन । अभय प्रताप शाह गत स्थानीय तहको निर्वाचनमा मेयर पदका प्रत्यासी बनेर चुनाव लडेका थिए भने शैलेश प्रताप शाह प्रदेश सभा सदस्य पदमा उठेका थिए । शैलेश अभिषेकका दाजु हुन् भने अभय काका हुन् ।

देखिन थाल्यो पारिवारिक विद्रोहको झल्को
शाह परिवार पछिल्लो समय एकमत नभएको विभिन्न घटनाले देखाउँछ । आ–आफ्ना बुवाको राजनीति योगदानलाई मर्न नदिने पक्षमा शाह परिवार भित्रका छोरापुस्ताका नेताहरु छन । गत स्थानीय तहको निर्वाचनमा शाह परिवार भित्र देखिएको विद्रोहले पनि यो कुराको प्रष्ट झल्को दिन्थ्यो । स्थानीय तहको निर्वाचनमा रजत प्रताप शाह र अभय प्रताप शाह कृष्णनगर नगरपालिकाको मेयरका प्रमुख आकांक्षी थिए । यो विषयले शाह परिवार दुई धुव्रमा बाँडियो । कस्लाई दिने टिकट भन्नेमा शाह परिवार भित्र विभिन्न मतभिन्नता देखिए ।

तत्कालिन संघीय समाजवादी फोरमसंग निकट रहेका शाह परिवार भित्र अभिषेक प्रताप ‘पावरफूल’ थिए । अभिषेकमा नै मेयरको टिकट रजतलाई दिने की अभयलाई दिने भन्नेमा निर्भर थियो । नाताले अभय अभिषेकका आफ्नै काका थिए भने रजत प्रताप आफ्ना बुवाका भाईका छोरा । नाताले बुवा । अन्त्यमा अभिषेकले संघीय समाजबादी फोरमबाट आफ्नै काका अभयलाई टिकट दिए । यो निर्णयको विरुद्धमा रजत प्रताप शाह उत्रिए । रजतले स्वतन्त्र रुपमा मेयरको उम्मेदवारी दिए । दुई भाई चुनावमा होमिदा रजत प्रताप शाहको पक्षमा नतिजा आयो । भारी मतले अभयलाई चुनावमा हराएर रजतले चुनाव जिते । खासगरी यो घटना पछि शाह परिवारमा मनमुटाव छ भन्ने बेला बेला देखिदैँ आएको छ । आ–आफ्नो बुवाको विरासतलाई जोगाउन शाह परिवारका पछिल्ला पुस्ताका छोराहरु लागि परेका छन ।

लगत्तै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि अचम्मको चुनावी प्रतिस्पर्धा देखियो । स्थानीय तहको निर्वाचन पश्चात अभिषेक प्रताप शाह तत्कालिन संघीय समाजबादी फोरम नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरे । कांग्रेस प्रवेश लगत्तै प्रतिनिधि सभाको टिकट पाए । चुनावमा होमिए । अभिषेकको कांग्रेस ‘इन्ट्री’ पछि त्यस क्षेत्रका कांग्रेसीहरु खुसी थिएनन । प्रतिनिधि सभाको उम्मेदवार बन्ने होडमा रहेका कांग्रेसका पुराना नेता तथा पूर्व मन्त्री समेत भैसकेका विरेन्द्र कानोडिया अभिषेक कांग्रेस प्रवेश पछि रुष्ट थिए । कांग्रेसले चुनाव आफ्नो पक्षमा पार्नका लागि अभिषेक र विरेन्द्रलाई मिलायो । विरेन्द्र कांग्रेसबाट प्रदेश सभामा चुनाव लड्न राजी भए । विरेन्द्र प्रदेश सभाको चुनाव लड्ने निश्चित भएपछि अभिषेक प्रतापका काका शैलेश प्रताप शाहले संघीय समाजबादी फोरम नेपालबाट प्रदेश सभाको उम्मेदवारी दिने घोषणा गरे ।

यसले राजनीति बृत्तमा फरक चर्चा पायो । कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अभिषेक र प्रदेश सभा सदस्य उम्मेदवार विरेन्द्र ‘रुख’ चुनाव चिह्नबाट मतमाग्न घरदैलोमा गैरहँदा अभिषेकका दाई शैलेश ‘हातले समातेको मसाल’मा भोट माग्दै घरघर हिडे । रातभर अभिषेक र शैलेश एउटै घरको खाना खान्थे । विहान हुँदा वित्तिकै फरक फरक मत माग्थे । यसले पनि शाह परिवारमा विद्रोह जन्माउँदै छ भन्ने देखाउँन्थ्यो ।

कुन पार्टीमा को को ?
के शाह परिवार अहिले एउटै पार्टीमा छन त ? यो प्रश्न आमनागरिकले गर्ने गरेका छन । डा. रुद्र प्रताप शाह मात्र परिवारका सबैभन्दा पाका पुस्ताका अभिभावक हुन् । उनले नै परिवारभित्र विद्रोह जन्मिदा समस्याको समाधान गर्दै आएको बताइन्छ । रुद्र पतापका छोरा, नाती, भतिजाको सेरोफेरोमा राजनीति घुमिरहदा रुद्र प्रताप चिकित्सककै काममा व्यस्त छन । शाह परिवार भित्र कयौं व्यक्ति विभिन्न पार्टीमा लाग्दा रुद्र प्रताप भने नेपाली कांग्रेसकै समर्थनमा रहेको कतिपय बताउँछन । रुद्र प्रतापसंगै अभिषेक प्रताप पनि हाल कांग्रेसमै छन । कांग्रेसको सदस्यता लिए पनि लामो सदस्य पार्टी सदस्य मात्र बनेका उनी केही दिन पहिला केन्द्रिय सदस्यतामा मनोनित भएका थिए ।

स्वतन्त्र रुपमा कृष्णनगरको चुनाव जितेका रजत प्रताप विहीबार मात्र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन । आफु स्वतन्त्रबाटै चुनाव जितेको र जनताले पार्टी प्रवेश गर नभन्दासम्म कुनै पार्टीमा नजाने बताउँदै आएका रजत विहीबार भने एकाएक कम्युनिष्ट पार्टीमा प्रवेश गरे । ‘नेकपाले जनतामा गरेको काम र उसले लिएको नीति मन परेर नेकपामा प्रवेश गरेको हुँ, रजतले पत्रकारसंग भनेका छन, यो पार्टीमा भविष्य राम्रो देखेको छु ।’

तत्कालिन संघीय समाजबादी फोरम नेपाल (हालको समाजबादी पार्टी) बाट प्रदेश सभा निर्वाचनमा चुनाव लडेका शैलेश प्रताप समाजबादी पार्टीले कारबाहीको कुरा चलेपछि स्वतन्त्र रहेको बताउँछन । हाल कुनै पार्टीमा नदेखिएका उनी कांग्रेसमा जाने पक्कापक्की जस्तै भएको बताइन्छ ।

झण्डै ६ दशकको राजीनित विरासत बोकेको शाह परिवारका सदस्य देशका ठूला दुई पार्टी (नेकपा) र नेपाली (कांग्रेस) बाट राजनीति गर्न थालेपछि आगामी निर्वाचनसम्म परिणाम के होला प्रतिक्षाको विषय बनेको छ ।

अभिषेकको सधै बदनामी, रजतको वाहवाही !
शाह परिवारबाट जनमतसंगै उदाएका पछिल्ला नेता हुन्, अभिषेक र रजत । नाताले काका, छोरा पर्ने यी दुई नेता पदीय हिसाबले प्रतिनिधि सभा सदस्य र नगर प्रमुख हुन् । अभिषेक प्रताप राजनीति बृत्तमा बेला बेला विवादमा तानिदैँ आएका छन । केही महिना अघि उनले कृष्णनगरका एक नेतालाई घरमै बोलाएर कुटपिट गरेको विषयमा चर्चामा थिए । उनीमाथि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ज्यान मार्ने उद्योगमा मुद्धा समेत दर्ता भएको थियो । अदालतसम्म पुगेको उक्त मुद्धामा सांसद शाहले ५ लाख धरौटी बुझाएका अहिले छुटेका छन ।

यति मात्र होइन उनीमाथि धर्म र जातको नाममा राजनीति गर्दै आएको आरोप लाग्दै आएको छ । गत दीपावलीमा मूर्ती विसर्जनका क्रममा स्थानीय हिन्दु र मुस्लिमबीच तनाव हुँदा मौन बसेको र हिन्दुलाई उचालेको आरोप लागेको थियो । यस्तै–यस्तै काण्डमा अभिषेक विवादमा पर्दै आएका छन ।

रजत प्रताप भने कृष्णनगर नगरपालिकाको नगर प्रमुख भएदेखि कुनै विवादमा परेका छैनन् । कृष्णनगरमा घट्ने बेला–बेलाका घटनामा पनि रजत प्रताप मौन बस्दै आएका छन । स्थानीय तहको निर्वाचनमा उपमेयर शवनम खातुनले चुनाव जितेकी थिइन । तत्कालिन (माओबादी केन्द्र)बाट चुनाव जितेकी शवनमसंग मेयर शाहको अझैसम्म मनमुटाव भएको देखिदैन । सुरुताका केही विवाद रहेपनि पछि सबै समस्याको हल गरेको जनप्रतिनिधि बताउँछन । एकले अर्काको काम, कर्तव्य र अधिकारबारे राम्रोसंग बुझ्न सकेका थिएनौं सुरुताका केही समस्या आएको हो रजत प्रतापले मायादेवीसंग भने, “अहिले त्यस्तो विवाद केही छैन् मिलेर काम गरिरहेका छौं ।” कृष्णनगरमा बेला–बेला हिन्दु, मुस्लिमको नाममा घुसपौठ हुने गरेको छ । तर, कृष्णनगर नरपालिका भित्र सबै एकमन एकताका साथ अगाडी बढेको देखिन्छ ।

विकास निर्माणको काममा आफु जनताको बीचमै रहेको शाहले बताउँदै आएका छन । कृष्णनगर नगरपालिका र आफ्नो बदनाम गर्नका लागि विभिन्न आरोप लाग्ने गरेपनि ती सत्य नभएको शाह बताउँछन । शाह भन्छन्, ‘काम गर्दा शंका उब्जिनु स्वभाविक हो, राजनीतिमा यी कुरा सामान्य हुन, आफु सत्यको बाटोमा सधै हिड्नुपर्छ ।’

यी थप समाचार पढ्नुहोस्

कस्ले बोक्ला कृष्णनगरका शाह परिवारको राजनीतिक विरासत ?

‘लुम्बिनीमा दृग नारायण पाण्डेयको राजनीति ‘इतिवृतान्त’ !’

प्रकाशित मिति : ६ चैत्र २०७६ बिहिबार ००:००  ३ : ४१ बजे