१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मायादेवी गाउँपालिका कोरोना बिरुद्धको सचेतनामा सक्रिय



थानेश्वर अधिकारी, चार नम्बर ।

कपिलवस्तुको मायादेवी गाउँपालिका पकडी कोरोना रोगको संक्रमणबाट बच्नका लागि तीव्र ढंगबाट लागेको छ । देशभर कोरोना भाइरस (कोभिड –१९) को संक्रमणको सन्त्रास फैलिरहेको बेला स्वास्थ्कर्मी र एम्बुलेन्स चालकका लागि पि.पि.इ.लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री पालिकाले मंगलबार हस्तान्तरण गरेको हो ।

कोरोनाविरुद्ध चेतना जगाउने अभियान नै चलाएको पालिकाले मंगलबार पनि गाउँपालिका भित्रका सबै स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई ७५ थान पि.पि.इ.सेट हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले जानकारी दिनुभयो । सरसफाइको कमीले किटाणुबाट हुन सक्ने विभिन्न किसिमका रोगबाट बच्नका लागि स्वास्थ्य सामाग्री वितरणसंगै गाउँपालिकाको मुख्य चोक बजार पकडीमा विषादी छर्ने कार्यको शुरुवात गरेको उहाले जानकारी दिनुभयो ।

गाउँगाउँमा सरसफाई गराई पालिकाभित्र किटाणु र लामखुट्टेबाट हुने विभिन्न रोगको नियन्त्रणका लागि बिषादी छर्ने काम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत जनकराज पंथीले बताउनु भयो । कोरोना भाइरसबाट बच्न यस अघि गाउँपालिकाले बिभिन्न वार्डहरुमा मास्क बितरण, साबुन पानीले हात धुने अभियान संचालन गरेको थियो । पालिकाभित्रका ८ वटै वार्डमा साबुन बितरण गरी समुदायका मानिसहरुलाई साबुन पानीले हात धुने तरिका समेत सिकाइएको उहाँले जानकारी दिनुभयो । यसका साथै कोरोना सचेतनासहितका अडियो सामाग्रीहरु पनि माइकिङ गरी टोलटोलमा पुर्याइएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७६ मंगलबार ००:००  ७ : २९ बजे