३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह



काठमाडौं ।
नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मधेश प्रदेश लगायत बागमती र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ । तसर्थ भारी वर्षा, मेघगर्जन र चट्याङ, गेग्रान बहाव, बाढीपहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ असार २०८० सोमबार ००:००  ८ : ०० बजे