१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दाङमा पाँच वर्षमा डुबेर दुई सय २८ जनाको मृत्यु



दाङ ।
दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको संख्या बढ्दो छ ।

जिल्ला आपत्‌कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्यांक अनुसार दाङमा डुबेर मृत्यु हुनेको संख्या दुई सय २८ रहेको छ । यसमा एक सय ७४ पुरुष र ५४ महिला छन् । डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाअन्तर्गत छन् ।

तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा घोराहीका ७१, तुलसीपुरका ४५, लमहीका ३१, राप्तीका २२ र गढवाका १६ जनाको मृत्यु भएको छ । यसैगरी बबईका नौ, दङ्गीशरणका आठ, शान्तिनगर र राजपुरका समान पाँच–पाँच, बङ्गलाचुलीका तीन तथा जिल्ला बाहिरका १६ व्यक्तिको डुबेर मृत्यु भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार आर्थिक वर्ष २०७९/८० मा ४५ जनाको जिल्लाका विभिन्न स्थानमा डुबेर मृत्यु भएको छ । आर्थिक वर्ष २०७८/७९ मा ६३ जना, आर्थिक वर्ष २०७७/७८ मा ५५, आर्थिक वर्ष २०७६/७७ मा ३७ र आर्थिक वर्ष २०७५/७६ मा २९ जनाको डुबेर मृत्यु भएको तथ्यांक छ ।

डुबेर ज्यान गुमाउनेमा २० वर्षमुनिका ८५ जना रहेका छन् । प्रमुख जिल्ला अधिकारी वैद्यले १३ महिनाकी शिशुदेखि ८० वर्षमा वृद्धसम्मका रहेका जानकारी दिए । घोराही–९ की १३ महिनाकी शिशुको २०७८ फागुन २२ गते घर अगाडि राखेको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको थियो । बङ्गलाचुली गाउँपालिका-७ का ८० वर्षीय दयाराम बुढामगरको २०७९ असोज २१ गते खोला तर्ने क्रममा चिप्लेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले डुबेर भएका मृत्युमध्ये अधिकांश लापरबाहीका कारण भएको जनाएको छ । पानीसँगको खेलवाड गर्दा कतिपय घटना बगाएर, कतिपय घटना पौडिन नजान्दा तथा कतिपय घटना भवितव्यका कारण भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

‘केही घटना पानीमा हामफालेर आत्महत्या गरेका पनि छन् तर अधिकांश डुबेर मरेका घटनाको अनुसन्धान गर्दा लापरवाहीका कारण भएको देखिएको छ,’ उनले भने, ‘पानी र आगोसँग कहिले खेलवाड गर्नु हुँदैन भन्ने जान्दाजान्दै केही हुँदैन भनेर आफैँले ज्यान गुमाएको अवस्था छ ।’

जिल्लाको भौगोलिक अवस्था तथा वर्षाका समयमा सावधानी नअपनाउँदा पनि बगाएर वा डुबेर मृत्यु भएका जिल्ला प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताए । साथीभाइसँग लहैलहैमा लागेर खोला वा नदीमा गएर नुहाउन खोज्दा धेरैजसो युवाले पौडिन नजानेरै ज्यान गुमाएका छन् । उनले भने, ‘डुबेर अकालमा ज्यान गुमाउने युवाको संख्या जिल्लामा धेरै छ । युवा जोश देखाउँदै लापरबाहीले नै अन्तिममा ज्यान फाल्न बाध्य भएका घटना छन् ।’

प्रकाशित मिति : ११ श्रावण २०८० बिहिबार ००:००  ८ : ०४ बजे