१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सरकार जनअपेक्षा अनुरूप चल्न सकेन : नेता महर



काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार अपेक्षाकृत रूपमा जनभावना अनुरूप चल्न नसकेको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले वर्तमान सरकारप्रति जनताका अपेक्षा धेरै रहेको र सरकार सो अनुरूप चल्न नसकेको बताएका हुन्।

सरकारलाई जनअपेक्षीय रूपमा सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नु पर्ने आवश्यकता देखिएको महरले ‍औंल्याए । ‘कांग्रेस गठबन्धनको सबै भन्दा ठूलो दल हो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार असफल हुँदा त्यसको दोष कांग्रेसको टाउकोमा पनि आउँछ। हामीले चुनावको समयमा जनतासामु गरेका वाचा र प्रतिबद्धता भुल्नु हुँदैन। वर्तमान सरकारले अपेक्षाकृत रूपमा कामको गति समात्न सकेको छैन। त्यसैले सरकारलाई जनअपेक्षीय रूपमा सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नुपरे त्यो पनि गरौं,’ उनले भने।

मन्त्रिपरिषद्‍बाट कुनै निर्णय हुने वा मन्त्रीहरूले निर्देशन दिने काममात्र गर्न नहुने बताउँदै उनले जनताका अपेक्षा के छन् र मुलुकका लागि तत्काल आवश्यक प्राथमिकताको विषय के छरु भन्ने पहिचान गरेर सरकारले सो अनुरूप काम गर्न सक्नुपर्ने बताए।

‘अहिले पशु चौपायामा लागेको लम्पी स्किन रोग महामारीका रूपमा फैलिएको छ। लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघिसके छ। यसले किसानहरू ठूलो मारमा परेका छन्। सरकारले सुरुमै संक्रमित पशुमा खोप लगाउन सकेको भए अहिलेको अवस्था आउने थिएन। सरकारको तर्फबाट रोग निदानका लागि भरपुर प्रयास हुनुपर्थ्यो। त्यो हुन सकेन,’ महरले भने। किसानलाई हाम्रा लागि पनि सरकार छ भन्ने अनुभूति दिलाउन सक्ने गरी सरकारले काम गर्नुपर्ने उनले बताए।

यसका साथै भ्रष्टाचार न्यूनीकरणमा समेत सरकारको ध्यान उच्चताका साथ जानुपर्ने महरले बताए। ‘विमान स्थलबाट क्विन्टका क्विनटल सुन भित्रिएका जनताले सरकारप्रति प्रश्न उठाउनु स्वाभाविक हो। यो अवस्थाको अन्त्यका लागि सरकारले कडा कदम चाल्नुपर्छ। जनताको मुख होइन, तस्करले सुन भित्र्याउने दुलो टाल्नुपर्छ’, उनले भने।

कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीलाई पनि उनले जनपक्षीय काम गर्न सरकारलाई झकझक्याउन आग्रह गरेका छन्।

प्रकाशित मिति : १४ श्रावण २०८० आइतबार ००:००  १ : ०० बजे