१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपालले बहराइनलाई १० विकेटले हरायो



काठमाडौं ।
आइसिसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपालले बहराइनलाई पराजित गरेको छ।

मलेसियामा भइरहेको खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको हो। बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले बिनाक्षति चुमेको हो।

महिला क्रिकेटको इतिहासमा नेपालले पाएको यो दोस्रो सानो लक्ष्य हो। यसअघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेर माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो।

जितका लागि ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। नेपालको जितमा ओपनर कविता कुँवर १४ बलमा ३ चौकासहित १८ रनमा अविजित रहिन्। सीता राना मगर ३ बलमा २ रनमा अविजित रहिन्।

त्यसअघि मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएको थियो। बहराइनकी कप्तान दीपिकाले २० बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन्।

बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिएन भने खुसी डङ्गोलले दुई विकेट झारिन्। कविता कुवर, पूजा महतो र रुविना क्षत्रीले समान एक एक विकेट लिए । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको थियो। अब नेपालले आफ्नो तेस्रो खेल आइतबार भुटानसँग खेल्नेछ।

नेपालले लगातार दोस्रो जितका साथ सेमिफाइनलमा पुग्ने सम्भावना मजबुत बनाएको छ। नेपालले पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले हराएको थियो।

नेपालले अब आइतबार भुटान, मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ। समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन्।

शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी-२० विश्वकप खेल्न पाउनेछन्।

प्रकाशित मिति : १५ भाद्र २०८० शुक्रबार ००:००  ५ : ४० बजे