१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इङ्ल्यान्डसँगको पहिलो एकदिवसीयमा न्युजिल्यान्ड ८ विकेटले विजयी



एजेन्सी ।
इङ्ल्यान्डसँगको पहिलो एकदिवसीयमा न्युजिल्यान्ड ८ विकेटले विजयी भएको छ । ओपनर डेभन कन्वे र डर्याल मिचेलले शतक बनाएको खेलमा घरेलु टोलीलाई हराउँदै न्युजिल्यान्डले चार खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

जितका लागि २ सय ९२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४५ ओभर ४ बलमा २ विकेट गुमाउँदै भेट्टायो । न्युजिल्यान्डका डर्याल मिचेल १ सय १८ रनमा र डेभन कन्वे १ सय ११ रनमा अविजित रहे । विल योंग २९ र हेनरी निकोलस २६ रनमा आउट भए ।

इङ्ल्यान्डका आदिल राशिद र डेविड विल्लीले एकरएक विकेट लिए । त्यसअघि कार्डिफमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो । उसका चार खेलाडीले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त भएन ।

कप्तान जस बटलरले सर्वाधिक ७२ रन बनाए । डेविड मलानले ५४ रन जोडे । त्यस्तै, बेन स्टोक्स र लियाम लिभिङ्स्टोनले समान ५२ रनको अर्धशतकीय पारी खेले । न्युजिल्यान्डका रचिन रविन्द्रले ३ तथा टिम साउथीले २ विकेट लिएका थिए । दोस्रो एकदिवसीय खेल भोलि साउथह्याप्टनमा हुनेछ ।

प्रकाशित मिति : २३ भाद्र २०८० शनिबार ००:००  ७ : ०६ बजे