१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दोस्रो एकदिवसीयमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय २३ रनले हरायो



काठमाडौँ ।
दोस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय २३ रनले हराएको छ ।

हिजो भएको खेलमा अस्ट्रेलियाले दिएको ३ सय ९३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४१ ओभर ५ बलमा २ सय ६९ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका ४ जना खेलाडी अर्धशतक नजिक पुगेर आउट भए । हेनरिच कलासन र डेभिड मिलर ४९ रन तथा टेम्बा बामुभा ४६ रन र क्विन्टन डी कक ४५ रनमा आउट भए ।

अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९२ रन बनाएको थियो । यो खेलमा अस्ट्रेलियाले १० ओभरमा सय रन पूरा गरेको थियो । उसका डेभिड वार्नर र मार्नस लावुसेनले शतकीय पारी खेले ।

लावुसेनले १ सय २४ र डेभिड वार्नरले १ सय ६ रन बनाए । ताबरेज सम्सीले ४ तथा कागिसो राबडाले दुई विकेट लिए । जितसँगै अस्ट्रेलियाले पाँच खेलको एकदिवसीय शृङ्खलामा २–० को अग्रता बनाएको छ । तेस्रो खेल पर्सि मङ्गलवार हुनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०८० आइतबार ००:००  ७ : ०५ बजे