११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ



काठमाडौँ ।
इलाम नगरपालिका वडा नम्बर ७ को सुन्तलाबारीमा जन्मनुभएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलवार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलवारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधवार बिहानै नेम्वाङको जन्मघर पुग्नुभयो ।

नेम्वाङको छिमेकीसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, ‘हिजो दिनभर घरमै बसेँ । आज बिहानै उठेर उहाँ जन्मिएको घरमा गएँ । ताल्चा लगाएको सुनसान घरको वरिपरि हेरेँ । विगतका मीठा पल सम्झिएँ । विरक्त लाग्यो ।’

अब फेरि देशले उहाँजस्तो अर्को सुवासचन्द्र पाउन मुश्किल हुने उहाँ बताउनुहुन्छ । ‘उहाँ हाम्रो देशको गहना हुनुहुन्थ्यो, नेम्वाङले इलाममा सम्झनायोग्य थुप्रै काम गर्नुभएको छ । इलामको मात्र होइन झापा, पाँचथर र ताप्लेजुङको विकासका लागि पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ,’ श्रेष्ठले भन्नुभयो । इलाम क्षेत्र नम्बर २ को पश्चिमी क्षेत्रमा करिब छ अर्ब रुपैयाँको लागतमा निर्माणाधीन सडक बनाउनुमा नेम्वाङको योगदान अतुलनीय रहेको उहाँको भनाइ छ ।

यस्तै इलामको गहनाका रूपमा सानिमा हाइड्रोबाट सोयाङ हुँदै इलाम जोड्ने बाटो बनाउन नेम्वाङको महत्त्वपूर्ण योगदान रहेको श्रेष्ठले बताउनुभयो । इलामका महत्त्वपूर्ण स्थानको विकासका लागि र व्यापारिक क्षेत्रलाई त्यस सडकले ठूलो टेवा पुर्‍याउने उहाँको विश्वास छ ।

नेम्वाङले सहयोग गरेकै कारण इलाममा कोल्डस्टोर, सिटीमार्ट, गौतमबुद्ध सभाहलजस्ता संरचना निर्माण भएको सुन्तलाबारीकी सुशीला नेम्वाङको भनाइ छ । नगरलाई विभिन्न गाउँसँग जोड्ने सडक निर्माणका लागि दातृ निकायसँग सम्पर्क गरेर नेम्वाङले योजना ल्याएको उहाँले सुनाउनुभयो । टेलिफोन विस्तार, विद्युतीय विस्तारमा टेवा पुर्‍याउनुका साथै इलाम अस्पताललाई गुणस्तरीय अस्पताल बनाउन नेम्वाङले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको सुशीलाको भनाइ छ ।

सुन्तलाबारी गाउँका ९२ वर्षीय रनबहादुर लिम्बूले विगत सम्झँदै भन्नुभयो, ‘उहाँको धेरै नबोल्ने गम्भीर स्वभाव थियो । गाउँमा कोहीले झगडा गर्‍यो भने ऊ रुन्थ्यो,’ राईले भन्नुभयो, ‘भैझगडा मन नपराउने, धेरै नबोल्ने स्वभाव थियो ।’ गएको आम चुनावमा आफूलाई भेटेको स्मरण गर्दै राई भन्नुहुन्छ, ’आशीर्वाद चाहियोभन्दा मैले चिताएको पुगोस् भनेको थिएँ । म जीवितै छु ऊ बितेको खबर सुन्दा मेरो भक्कानो छुट्यो ।’

इलामको सुन्तलाबारीमा बाबु रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारीको कोखबाट २००९ फागुन २८ गते जन्मिनुभएका नेम्वाङले आफ्नो बाल्यकाल त्यहीँ बिताउनुभएको थियो । बुवा अदालतको न्यायाधीश भएकाले नेम्वाङले इलाम सदरमुकामको सुन्तलाबारीको आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिनुभयो । उहाँले कानुनमा स्नातक अध्ययन गर्नुभएको थियो ।

इलाम क्षेत्र नम्बर २ बाट पाँचौँपटक संसदीय चुनावमा निर्वाचित प्रतिनधिसभा सदस्य नेम्वाङको निधनपछि इलाम स्तब्ध बनेको छ । यतिबेला यहाँका सबै राजनीतिक दलका नेता, कार्यकर्ताको एउटै बोली सुनिन्छ, ‘इलामको मियो ढल्यो’ । विसं २०७९ को चुनावमा नेम्वाङ आफ्नै ३० वर्षदेखिको विरासत जोगाउँदै एक सय १४ मतान्तरले विजयी बन्नुभएको थियो । नेम्वाङले ३० हजार २० मत ल्याउँदा कांग्रेस जिल्ला सभापति डम्बर खड्काले २९ हजार नौ सय छ मत ल्याउनुभएको थियो । नेम्वाङले चुनाव जितेको इलाम क्षेत्र नम्बर २ मा इलाम र देउमाई नगरपालिका, माङ्सेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका, माई नगरका वडा नम्बर ६, ७ र ८ पर्छन् ।

विसं २०७४ को प्रतिनिधि सभा चुनावमा नेम्वाङ इलाम–२ बाटै ३६ हजर पाँच सय १७ मत ल्याएर विजयी बन्नुभएको थियो । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार आठ सय ६० मत ल्याउनुभएको थियो । २०६४ सालको संविधान सभा चुनावमा नेम्वाङले १७ हजार सात सय ४८ मत ल्याउँदा कांग्रेसका केशव थापाले १४ हजार ४४ मत ल्याउनुभयो । विसं २०७० को संविधान सभा चुनावमा नेम्वाङले १४ हजार नौ सय ३० मत ल्याउँदा कांग्रेसका भेषराज आचार्यले १२ हजार आठ सय २८ मत ल्याउनुभएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८० बुधबार ००:००  १२ : ४३ बजे