४ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन



काठमाडौं ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । शर्माको नाम सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिनुभयो । अब राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

न्याय परिषद्ले विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा नियुक्तिका लागि प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्लाई दोस्रो पटक लेखिपठाएको थियो ।

प्रस्तावित न्यायाधीश विनोद शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताउनुभयो । सिंहदरबारमा बसेको सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो भावी योजना प्रस्तुत गर्ने क्रममा उहाँले यो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । न्यायमा ढिलासुस्ती र खर्चिलोपन हुन नदिनका लागि आफूले सक्दो पहल गर्ने शर्माको भनाइ छ ।

प्रस्तावित न्यायाधीश शर्माले मानव अधिकारको विश्वव्यापी घोषणा, संवैधानिक तथा कानुनद्वारा प्रदत्त अधिकारको उल्लङ्घन भएमा प्रत्येक व्यक्तिलाई सक्षम अदालतबाट प्रभावकारी कानुनी उपचारको व्यवस्था गरेकाले सबैलाई न्यायबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको दाबी गर्नुभयो ।

प्रकाशित मिति : २९ भाद्र २०८० शुक्रबार ००:००  १ : ४७ बजे