१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कर्मचारीमाथि आक्रमण गर्ने विरुद्ध कार्वाहीको माग, व्यवसायिक अधिकार खोसियो : टेनस्टार फुड्स



चितवन ।
रूपन्देही स्थित टेन स्टार फुड्सको उत्पादित चाउमिन विक्री गर्दै हिँडेका कर्मचारीमाथि भरतपुरमा कुटपिट भएको छ । कुटपिट गर्नेहरु विरुद्ध प्रहरीमा उजुरी दिदै तत्काल कार्वाही गर्नुपर्ने माग उनले गरेका छन् । भरतपुर–४ स्थित संविधान चोकनजिक कुटिएका चाउमिन उद्योगका कर्मचारी विष्णु लामिछानेले आइतबार साँझ जिल्ला प्रहरी कार्यालय चितवन समक्ष शान्ति सुरक्षाको माग गर्दै कुटपिट गर्नेलाई कानुनी कार्वाही हुनुपर्ने बताएका छन् ।
विगतमा बेच्दै आएका चाउमिन व्यवसायी बजारमा प्रतिस्पर्धामा जान डराएपछि योजनाबद्ध तरिकाले आफुहरु विरुद्ध आक्रमणमा लागेको संचालकको दावी छ । खुल्ला बजारमा सहज रुपमा विक्री वितरण गर्न पाउनु पर्ने व्यवसायिक अधिकारलाई दादागिरीको शैलीमा अवरोध गर्न खोजिरहेको संचालकले मायादेवी अनलाइनलाई बताए । सरकारको मापदण्ड अनुसार संचालित उद्योगहरुले आफनो व्यवसाय संचालन गरी उपभोक्तालाई गुणस्तरीय बस्तु विक्री वितरण गर्न अवरोध गर्नु वैधानिक नभएको बताएका छन् ।
सोही क्रममा चितवनकै केहि चाउमिन उद्योगीको नेतृत्वमा करिब १० जनाको समूहले आफुसहित दुई जनामाथि आक्रमण गरेको लामिछानेले बताए । गाडीमा चाउमिन विक्री गर्दै हिँड्ने क्रममा गाडी रोकेर आफुहरुमाथि आक्रमण भएको उनी बताउँछन् । आफुमाथि आक्रमण हुन थालेपछि उनले भिडियो खिचेका थिए । उनीमाथि केहि महिलाले लगातार आक्रमण गरिरहेको भिडियोमा देख्न सकिन्छ । प्रहरीले आज बिहान १० बजेपछि दुवै पक्षलाई राखेर छलफल गर्ने तयारी गरेको छ । बुटवलबाट आएर सर्वसुलभ मूल्यमा चाउमिन विक्री गरेपछि अत्तालिएका यहाँका उद्योगीहरुले आफुहरुमाथि सांघातिक आक्रमण गरेको लामिछानेले आरोप लगाए । टेन स्टार फुड्सको भरतपुर डिलरमा भरतपुर–१० ले ताला लगाएपछि कावासोती डिलरले चितवनमा चाउमिन विक्री गर्दै आएको थियो ।
केही समय अघि विभिन्न बहानामा उद्योगका उत्पादित बस्तुहरु कमसल, गुणस्तर हिन र अखाद्य भएको भनी बजारमा तथ्यहिन प्रचार गर्ने गिरोह सकृय हुने गरेका छन् । बजारमा उत्पादित बस्तुको व्राण्ड विगार्न पनि यस्ता गिरोह आर्थिक प्रलोभनमा परी प्रभाव पार्न विभिन्न कुप्रचार गर्ने गरेको व्यवसायीहरु बताउनछन् । केहीदिन अघि रोल्पामा प्लाष्टिकको चामल अखाद्य बस्तुको विक्रि वितरण गरेको भनी अप्रमाणित कुरा बजारमा हल्ला गराइएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८० सोमबार ००:००  ११ : ०२ बजे