१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेकपा एस विवाद: माधव नेपालको अपानि फिर्ता, अर्को अपानि जारी हुने



काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) फिर्ता हुने भएको छ । अपानि जारी भएपछि नेकपा एसभित्र विवाद चुलिएको छ ।

नेकपा एसका उप-महासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले केही दिनअघि जारी गरिएको अपानि कार्यान्वयन नहुने बताए । ‘अपानि जारी गर्दा हतारमा गरियो । अब त्यसलाई सच्याएर पठाउनुपर्ने भएकाले यसअघि जारी भएको अपानि कार्यान्वयन हुँदैन,’ उनले भने ।

उपमहासचिव खतिवडाका अनुसार नयाँ अपानि सोमबार (भोलि) जारी गरिनेछ । पार्टी अध्यक्ष माधवकुमार नेपालले गुटगत आधारमा नेताहरूको कार्यविभाजन गरेको, पक्षपातपूर्ण तरिकाले मनोनीत गरेको भन्दै अपानी जारी भएपछि सम्मानीत नेता झलनाथ खनाललगायतका नेताहरूले विरोध जनाएका थिए ।

पार्टी केन्द्रीय कमिटी र सचिवालय बैठकको निर्णय भन्दै अपानि जारी भएको थियो । शनिबार बसेको सचिवालय बैठकले यसअघिको अपानि फिर्तता लिने निर्णय गरेको खतिवडाले बताए । अपानि जारी भएपछि केही नेताले जिम्मेवारी नलिने घोषणा गरे भने केहीले पार्टी नै छाडेको घोषणा गरेका थिए । नेकपा एसको ५-७ भदौमा केन्द्रीय कमिटी बैठक बसेको थियो । त्यसपछि पटक-पटक सचिवालय बैठक बसेको थियो ।

‘अस्ति जारी भएको अपानि फिर्ता भएको छ । अब परिमार्जन गरेर भोलिसम्म अर्को अपानी जारी हुनेछ । त्यही अपानिका आधारमा पार्टी गतिविधि र कार्य विभाजनलगायतका काम हुनेछन्,’ खतिवडाले भने ।

प्रकाशित मिति : ७ आश्विन २०८० आइतबार ००:००  ६ : २६ बजे