१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

महिलालाई स्वरोजगार बनाउछौं : उपप्रमुख चौधरी



मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले नगर भित्रका महिलाहरुलाई स्वरोजगार बनाउने गरी आफुले काम गरिरहेको बताउनु भएको छ । उहाँले विभिन्न खालका सिपमुलक कार्यक्रम संचालन गरेर महिलाहरुलाई स्वरोजगारको अवसर सिर्जना गरी सशक्तिकरण गरिरहेको बताउनुभयो । शनिबार सिद्धार्थ सामाजिक विकास केन्द्रले संचालन गरेको ३ महिने निशुल्क सिपमुलक तालिमको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
उपप्रमुख चौधरीले महिलाहरुले अझै पनि सिप सिक्न पाए हुन्थ्यो भन्ने लागेको छ भने, त्यो पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सहभागीहरुले रुची र प्रतिवद्धता देखाए नगरपालिकाले आवश्यक सहयोग गर्दछ, त्यसका लागि महिला सशक्तिकरण कार्यक्रम नै संचालन गरिएको छ, उपप्रमुख चौधरीले भन्नुभयो, नतीजामुखी कामको लागि नगरपालिकाले आवश्यक सहयोग गर्दछ । लगानी गरे अनुसारको प्रतिफल ल्याउन सहभागीको रुची र प्रतिवद्धता भने खाँचो भएको उहाँले स्पष्ट पार्नुभयो ।
विगतका वर्षदेखि नै महिलाहरुको सीप विकासमा धेरै काम गरेको छ, उपप्रमुख चौधरीले भन्नुभयो, नगरपालिकामा मेडपा कार्यक्रम नै संचालनमा छ, जुन गरिबी न्यूनिकरणमा केन्द्रित छ, जसले सिपमुलक कार्यक्रम मार्फत स्वरोजगार र रोजगारी सिर्जना गर्न मद्दत गर्दछ । ढाकाको व्यवसायिकता, सिप विकास र प्रवर्धनमा नगरपालिकाले कार्यक्रम केन्द्रित गरेकाले महिलाहरुलाई थप अवसर सिर्जना हुने बताउनुभयो । पछिल्लो समय यसको माग, सम्भावना र बजार दुवै रहेकाले यसतर्फ विशेष काम थालनी गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रकी अध्यक्ष सुर्यकुमारी शाहीले सिकेका कुरा उपयोगमा नल्याए लगानी खेरजाने बताउनुभयो । उहाँले सहभागीहरुले आ आफनो ठाउँबाट कामको शुरुवात गरी स्वरोजगार बन्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै संस्थाका निवर्तमान अध्यक्ष तेजप्रसाद आचार्यले सिप सिकेर कहिल्यै पनि खाली बस्नु नपर्ने बताउदै यस प्रकारको सिपमुलक तालिम अहिलेको बजारमा विकाउ हुने र आम्दानी गर्न सकिने भएको स्पष्ट पार्नुभयो ।
त्यस्तै उपाध्यक्ष हरिलाल शर्माले सहभागीहरुले सिकेका कुरा व्यवहारमा उतारेर ससानो कामको थालनी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका सचिव दुर्गा अर्यालले दक्ष प्रशिक्षकले तालिम संचालन गरेकाले सहभागीले राम्रो ज्ञानसिप हासिल गरेको बताउनुभयो । प्रशिक्षकहरुले सहभागीको रुची र लगावले तालिम सफल भएको बताएका थिए ।
वाणगंगा नगरपालिकाको समन्वय, स्ट्रोम फाउण्डेशनको आर्थिक सहयोगमा संचालित ३ महिने व्युटिपार्लर, सिलाईकटाई तथा मोवाईल रिपरेरिङ्ग सम्बन्धी सिपमुलक तालिममा २४ जनाको सहभागीता रहेको थियो । तालिमको माइक्रोटेक टे«निङ्ग एकेडेमी बुद्धभूमि कपिलवस्तुले प्राविधिक सहयोग पु¥याएको थियो । तालिम समापन तथा प्रमाण पत्र वितरण समारोह सिड्स कार्यक्रमका बरिष्ठ कार्यक्रम संयोजक आरटी खानको सहजीकरण तथा एकेडेमीका प्रमुख अनिल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८० शनिबार ००:००  १० : ३१ बजे