२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

चितवनमा पहिलो खिचरा महोत्सव सुरु



चितवन, १ माघ ।
थारूहरूको महत्वपूर्ण चाड माघी (खिचरा) पर्वको अवसर पारेर पश्चिम चितवनको पटिहानीमा पहिलो खिचरा महोत्सव सुरु भएको छ । थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर ५ बेलोध प्रगन्नाको आयोजनामा आइतवारदेखि शुरु भएको ‘बेलोध खिचरा महोत्सव’ माघ ४ गतेसम्म चल्ने छ । आज थारूहरूले नयाँ वर्षको रुपमा माघी पर्व धुमधामले मनाईरहेका छन् ।
थारूहरूको संस्कृति संरक्षणका लागि यहाँ पहिलो पटक आयोजित महोत्सवको सोमबार चितवन क्षेत्र नम्बर तीनको प्रदेशसभा सदस्य रामलाल महत्तोले उद्घाटन गरे। सो क्रममा उनले महोत्सवले पटिहानीको पर्यटन विकास र थारूको मौलिक संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । थारू समुदायको भेषभूषा, रहनसहन, खानाका परिकारका साथै विभिन्न व्यवसायिक गरी ५० वटा स्टल राखिएको महोत्सव आयोजक समितिका संयोजक ठगाई महत्तोले जानकारी दिए ।
महोत्सवमा १५ देखि १७ लाखको आम्दानी हुने अनुमान गरिएको र करिव २० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा आएका दर्शकहरूले जिप, हात्ती, डुंगा सफारी तथा गाडा चडेर स्थानिय संस्कृति तथा वन्यजन्तुको अवलोकन गर्न सक्नेछन् । पछिल्लो समयमा पर्यटकिय स्थलको रुपमा विकास भैरहेको पटिहानीमा उक्त महोत्सवले यहाँको पर्यटन विकासमा टेवा पुग्ने स्थानिय संरक्षणकर्मी अपिल घिमिरेको भनाई छ ।

प्रकाशित मिति : १ माघ २०७४ सोमबार ००:००  ६ : २४ बजे