६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

आज जनै पूर्णिमा पर्व मनाईंदै, छैन सार्वजनिक विदा



काठमाडौं ।
हिन्दू धर्मावलम्बीहरुले आज जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी पर्व मनाउँदैछन् । जनै लगाउनेहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन् । यस्तै सुरक्षाको लागि भन्दै नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ ।

यस बाँधिएको डोरो गाई तिहारका दिन गाईका पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार होइन्छ भन्ने जनविश्वास छ ।

यस्तै वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित शरीरमा फेरि ऊर्जा ल्याउन भन्दै यस दि न नौ जातका अंकुरित गेडागुडी मिसाएर पकाएको पौष्टिकतत्वयुक्त क्वाँटी खाने गरिन्छ ।

उता, रसुवाको धार्मिक तथा पबित्र तीर्थस्थल गोसाईकुण्डमा जनै पूर्णिमाको अवसरमा मेला लागेको छ । भगवान् शिवको वासस्थानको रूपमा हिमालयको काखमा रहेको यस कुण्डमा स्नान गर्नाले पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास छ ।

मेला भर्न देशका बिभिन्न स्थानको साथै बिदेशबाट समेत भक्तजन गोसाईकुण्ड पुगेका छन् । भाद्र शुक्ल एकादशीदेखि शुरु भएको जनै पूर्णिमा मेला आजसम्म लाग्दछ ।

त्यस्तै मिथिलाञ्चल क्षेत्रमा भने भाइ र बहिनीको प्रेम प्रतीकको रुपमा मनाइने रक्षा बन्धन पर्व र जनै पूर्णिमा धूमधामका साथ मनाइंदै छ । जनकपुरको जानकी मन्दिर, राममन्दिरमा पूजापाठ गर्न श्रद्धालु भक्तजनको भीड लागेको छ ।

रक्षा बन्धनको अवसरमा दिदी बहिनीहरुले आफ्ना दाजुभाईलाई राखी बानी रक्षा बन्धन पर्व मनाइन्छ ।
यसैबीच यसपालिको जनै पूर्णिमा सरकारले सार्वजनिक विदा दिएको छैन । विगतका दिनमा आजको दिन सार्वजनिक विदा दिइदै आएपनि यसपालि सरकारले विदा कटौती गरेको हो ।

प्रकाशित मिति : १० भाद्र २०७५ आइतबार ००:००  १ : २५ बजे