२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

खोटाङमा सरकारी कार्यालय र पसल फोडेर चोरी 



खोटाङ । खोटाङको विजयखर्कमा अज्ञात समूहले सरकारी कार्यालय र पसल फोडेर चोरी गरेको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका १५ बिजयखर्कमा रहेको चार सरकारी कार्यालय वडा कार्यालय, हुलाक कार्यालय, स्वास्थ्यचौकी र चम्पावती माविको प्रशासनिक कक्षको ढोका तोडफोड गरेका हुन्। बुधबार राति अज्ञात समूहले तोडफोड गरी नगद तथा सामानसमेत चोरी गरेको वडाध्यक्ष वीरेन्द्र ढकालले बताए। उनका अनुशार वडा कार्यालयको ढोका फोडेर भित्र पसेको समूहले दराज तोडेर सामाजिक सुरक्षा भत्तासम्बन्धी कागजात च्यातेर फालेको, राजस्वबापत उठेको करिब ५ हजार रकम चोरी गरेको, वडाको कागजात छरपस्ट बनाइदिइएको, वाइफाईको राउटरसमेत चोरी भएको बताए। यस्तै, नजिकै रहेको चम्पावती माविको दराज फोडेर एक थान ल्यापटप र लेखामा रहेको केही नगद चोरी भएको विद्यालय प्रशासनले बताएको छ। हुलाकको पासबुक र स्वास्थ्यचौकीको भने बिपीसेट मिल्काइएको, हुलाकको १ हजार नगद र तीन सयको हुलाक टिकट पनि चोरी गरेको बताए। जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले हुलाक र स्वास्थ्यचौकीको कागजात छरपस्ट बनाइदिएको तथा व्यवसायी सागर खनालको पसल फोडेर नगद ६० हजार, रिचार्ज कार्ड र दम्पतीको नागरिकतासमेत चोरी भएको बताए। सोही ठाउँका अर्का व्यवसायी रमेश राईको पसल फुटाएर ५ हजारको रिचार्ज कार्ड, नगद ३ हजार, चुरोट, रक्सीलगायत चोरी भएको ढकालले बताए। कार्यालय र पसल तोडफोड गरेर चोरी गर्नेको पहिचान हुन नसकेको र घट्नाका दाषीलाई प्रहरीले अनुसन्धान थालेको डिएसपी केसीले बताए।

प्रकाशित मिति : ६ मंसिर २०७५ बिहिबार ००:००  १० : २६ बजे