१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

स्थायी कमिटीको बैठकपछि साङ्गठनिक एकता पूरा हुन्छ : प्रवक्ता श्रेष्ठ



कास्की ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने बताउनुभएको छ ।
पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी एकताको तीन महीनाभित्र सबै तहको एकीकरण सक्ने बताइए पनि विभिन्न कारणले सात महीनासम्म पनि एकता पूरा नभएकाले स्थायी कमिटी बैठक लगत्तै साङ्गठनिक एकता पूरा गरेर पार्टी एकताको उद्देश्य सफल बनाउने बताउनुभयो ।
जारी बैठकले सचिवालयबाट घोषणा गरिएको प्रदेश कमिटी अनुमोदन गर्ने, पार्टीको जिल्ला कमिटी, महानगरलगायत तल्ला कमिटी तथा जनवर्गीय सङ्गठनको एकीकरणको आधार तयार गर्ने, केन्द्रीय सदस्यको जिम्मेवारी निश्चित गरी शक्तिशाली र क्रान्तिकारी पार्टी निर्माण गर्न बैठक प्रश्थान विन्दु हुने नेता श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले वर्तमान सरकार सफल हुनु र नहुनुमा समग्र देश र पार्टीको समेत भविष्य जोडिएकाले सरकारलाई हरहालतमा सफल बनाइने बताउनुभयो । पार्टी गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले साङ्गठनिक एकता सम्पन्न नहुँदा पार्टी गतिविधि सञ्चालन गर्न अप्ठ्यारो भएको बताउनुभयो ।

प्रकाशित मिति : १० पुस २०७५ मंगलबार ००:००  ८ : ४६ बजे