२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

कपिलधाममा उपन्यासकार रुद्रराज पाण्डेको प्रतिमा अनावरण



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको वाणगंगा नपा वडा नं. ९ कपिलधाममा स्व. उपन्यासकार रुद्रराज पाण्डेको प्रतिमा अनावरण गरिएको छ । देशका अग्रज साहित्यकारको शालिक निर्माण गरेर साहित्य चौतारीको रुपमा परिचित गराइएको कपिलधाममा पाण्डेको प्रतिमा अनावरण गरिएको हो ।
आइतबार पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित, पूर्वमन्त्री तथा कांग्रेसका नेता दीपकुमार उपाध्याय लगायतले एक कार्यक्रमका बीच प्रतिमा अनावरण गर्नुभएको हो । पाण्डेको ११९ औं जन्मजयन्तीका अवसर पारेर कपिलधाममा प्रतिमा अनावरण गरिएको हो ।
कविताबाट साहित्यिक यात्रा प्रारम्भ गर्नुभएका पाण्डेले सामाजिक जीवन संग मेलखाने रुपमती उपन्यास लेख्नुभएको थियो । साथै पाण्डेका नाटक, कथा, निवन्ध, इतिहास, धर्म लगायत गरी १८ वटा कृति प्रकाशित छन् ।
उहाँले नेपालमा प्रथम पटक एस.एल.सी.परीक्षाको प्रारम्भमा नेपाली भाषालाई पाठ्यक्रममा समावेश गराउन विशेष योगदान दिनुभएको थियो भने पुरातत्व बिभाग स्थापनाका उत्प्रेरक एंव संस्थापक निर्देशक तथा अध्यात्म क्षेत्रका बहुआयामिक व्यक्तित्वमा चिनिनुहुन्छ ।
प्रतिमा अनावरण पछि भएको कार्यक्रमका बोल्दै वरिष्ठ साहित्यकार प्रश्रितले रुद्रराज पाण्डे नेपाली साहित्यमा बहुआयमिक व्यक्ति भएको बताउनुभयो । मानव महाकाव्यका लेखेक समेत रहनुभएका उहाँले मानवले मानव बीच गर्ने विभेद अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्व अर्थ राज्यमन्त्री तथा कांग्रेस नेता दीपकुमार उपाध्यायले रुद्रराज पाण्डेको प्रतिमा अनावरणले यस ठाउँको चर्चा चुलिएको बताउनुभयो ।
कार्यक्रममा हरिहर सन्यास आश्रम देवघाटका पीठाधीश्वर श्री १ हजार ८ स्वामी ज्ञानानन्द सरस्वतीज्यूलाई रुद्रराज पुरस्कार सर्मपणबाट सम्मानित गरिएको थियो । लाटोसाथी प्रा. डा. विष्णुराज आत्रेयले साहित्यकार सरदार रुद्रराज पाण्डेको व्यक्तित्व र जिवनीको बारेमा चर्चा गर्नुभएको थियो । पवित्र भूमि कपिलधाम राष्ट्र तथा बिकासको मेरुदण्ड भएकोले यस ठाउँलाई प्रादेशिक तथा नगर उद्यानको रुपमा लैजान सबैमा आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेपालबाट अन्ट्राटिका महादेशमा नेपाली माटो लिएर पुग्ने पहिलो नेपाली भुवनसिंह बि.क., लुम्बिनी बाङ्गमय प्रतिष्ठान प्रादेशिक कार्यालयका नारी साहित्यिक प्रमुख कृष्णकला भण्डारी, रुद्रराज पाण्डेका कान्छा छोरा डा. बद्रीराज पाण्डे लगायतले बोल्नुभएको थियो ।
रुद्रराज साहित्य सेवा समितिका अध्यक्ष कृष्णराज पाण्डेको अध्यक्षता, लुम्विनी बाङ्गमय प्रतिष्ठान प्रादेशिक कार्यालयका प्रमुख हिमलाल ज्ञवालीको स्वागत रहेको कायक्रममा रुद्रराज साहित्यिक सेवा समिति काठमाडौंका सदस्य डा. गौरीशंकर लालदासले सबैलाई धन्यवाद प्रदान गर्नु भएको थियो भने सञ्चालन कपिल आरोग्य मन्दिर कपिलधामकम सचिव धु्रव वेल्वासेले गर्नुभएको थियो ।

Image may contain: 4 people, outdoor

प्रकाशित मिति : २७ फाल्गुन २०७५ सोमबार ००:००  १ : ४९ बजे