२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

सप्तकोशीमा पानीको बहाव कम हुँदै, ५६ वटै ढोका खुला



सुनसरी ।
पहाड र तराई क्षेत्रमा आइतबार बिहानदेखि वर्षा कम भएसँगै सप्तकोशी नदीको बहाव कम हुँदै गएको छ। पानीको बहाव कम भए पनि ब्यारेजमा शनिबार राति करिब १२ बजेबाट खुला गरिएको ५६ वटा ढोका भने हाल खुला नै रहेको छ। सुनसरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीका अनुसार नदीमा पानीको बहाव कम हुँदै गएको छ।

‘ढोका यथावत रुपमा खुला राखिएको छ। पानी कम हुने क्रम भए पनि ५६ वटा ढोकामध्ये सबै ढोका आवश्यक्ता अनुसार कम र बेसी गर्दै खुला गरिएको छ’ सहायक प्रजिअ गिरीले बताए।

हाल नदीमा २ लाख ६५ हजार क्यूसेक पानीको बहाव रहेको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

यससँगै सुनसरीमा अविरल वर्षाका कारण ३१० घरपरिवार प्रभावित भएकाछन् । सहायक प्रजिअ गिरीले भने, ‘हालसम्म ३१० घरपरिवारका कम्तिमा १ हजारमा मानिस बाढी र वर्षाबाट प्रभावित भएकाछन्। प्रभावितहरुको राहत र उद्धारकार्यमा मुख्यतः स्थानीय तहले काम गरिरहेको छ।’
बाढी प्रभावितहरुको सुरक्षाका लागि जिल्लासंगै सुरक्षा निकायले सतर्कता अपनाइरहेको बताइएको छ।

प्रकाशित मिति : २९ असार २०७६ आइतबार ००:००  १२ : १३ बजे