५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मुहानकपमा ‘बुढासुड्डा’ प्रतिस्पर्धा, जित्नेलाई खसी पुरस्कार



मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगंगा ३ राजापानी खेल मैदानमा जारी मुहानकप जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामा ‘बुढासुड्डा’ प्रतिस्पर्धा पनि हुने भएको छ । मुहान कपलाई थप रोचक बनाउन र दर्शकहरुलाई  आकर्षण गर्न बुढासुड्डा प्रतियोगिता गर्न लागिएको क्लवले जनाएको छ । जिल्लाका बिभिन्न क्लवबाट ३० बर्ष उमेर काटेकाले मात्र यो प्रतियोगिता खेल्न पाउने छन् । अब सेमिफाइनल खेल सुरु भएसंगै बुढासुड्डाको पनि प्रतिस्पर्धा सुरु हुने आयोजक मुहान युवा क्लवका अध्यक्ष रविन्द्र प्रताप सेनले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । यस प्रतियोगिताको विजेताले २५ हजार भन्दा बढीको ‘खसी’ र मेडल पुरस्कारस्वरुप प्राप्त गर्ने छ । यसको लागि नाम दर्ताको अन्तिम समय आइतबारसम्मको लागि तोकिएको छ । आइतबार सम्म नाम दर्ता गराउन सबै क्लव तथा संघ संस्थालाई क्लवले आग्रह गरेको छ । बर्षाका बाबजुत पनि खेल मैदानमा दर्शकको उपस्थिति घटेको छैन । आज शनिबार चारैतर्फ दर्शकको बाक्लो उपस्थिति रहेको थियो । यही असोज १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ६० हजार शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता टिमले ३५ हजार, शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । विधागत तर्फ पनि खेलाडीले पुरस्कार पाउने छन् । प्रतियोगिातामा आयोजक २ टिमसहित कपिलवस्तुका १४ टिमले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६ शनिबार ००:००  ७ : ५५ बजे