१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

श्रीमतीसँग कुरा गरेको निहुँमा बावु छोराको हत्या



स्याङ्जा ।
हरिनास गाउँपालिकामा भएको बाबुछोरा हत्याकाण्डमा आफू संलग्न रहेको दानबहादुर मल्लले स्वीकार गरेका छन् । आफ्नी श्रीमतीसँग फोनमा बोलेको र अन्य महिलासँग पनि नराम्रो सम्बन्ध बढाएको भन्दै ३४ वर्षीय दिपक भनिने मल्लले छिमेकी साथी चित्रबहादुर खड्का र उनका नाबालक छोरा रिजन खड्काको धारिलो हतियार प्रहर गरी हत्या गरेको प्रहरीसमक्ष बताएका छन्।
आफ्‍नी श्रीमतीसँग र अन्य महिलासँग बढी बोल्ने, नराम्रो सम्बन्ध बढाउन खोज्ने तर आफूसँग घमण्ड देखाएर नबोलेपछि रिसको झोकमा खुकुरी प्रहार गरी बाबु छोरालाई मारेको उनले प्रहरीसमक्ष बयान दिएको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।
हरिनास ३ ललहीका ३३ वर्षीय गोरे भन्ने चित्रबहादुर खड्का र उनका छोरा ४ वर्षीय छोरा रिजन खड्काको हत्या गरेर मल्ल फरार भएका थिए। हत्यालगतै स्याङ्जाका प्रहरी उपरीक्षक राजकुमार लम्साल नेतृत्वमा विशेष टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो । करिब १५ दिनपछि मल्ललाई प्रहरीले पक्राउ गरेको हो।
मृतककी श्रीमती अनिता खड्काले दिएको किटानी जाहेरी र प्रहरी अनुसन्धानका आधारमा मल्ललाई पक्राउ गरिएको हो । गत भदौ १७ गते घरमा नै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी बाबु र छोराको हत्या भएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७६ आइतबार ००:००  १ : ०८ बजे